२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा । झापाको बाह्रदशी गाउँपालिकामा एक जना औषधि व्यवसायी र एक स्थानीय नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकामा ‘ट्राभल हिस्ट्री’ नभएका उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । बाह्रदशी गाउँपालिका २ र ३ मा समुदाय स्तरमा पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।यसअघि १२ जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु भारत लगायतका देशबाट फर्किएका थिए ।

संक्रमित दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।बाह्रदशीमा समुदायस्तरमा संक्रमण देखिएकाले मास टेस्टिङ गरिने चम्लगाईको भनाई छ । यसैबीच, गाउँपालिकाले सूचना जारी गरी भोलिदेखि बाह्रदशी गाउँपालिकाको वडा नं १ ,२ र ३ अनिश्चित समयका लागि सिल गरिने जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि संक्रमित क्षेत्रभित्रका तीनवटा वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।जिल्लामा पहिलो पटक बाह्रदशीमा सुरक्षाकर्मीबाहेक समुदायका ब्यक्तिमा कोरोना सरेको पाइएको हो ।चार दिनअघि क्वारेन्टाइनमा बसेका ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । त्यसमध्ये समुदायका ती दुई जनामा संक्रमण पुष्टि भएको हो ।उनीहरुलाई कहाँबाट र कसरी कोरोना सर्यो भन्ने थाहा हुन नसकेको अध्यक्ष राजवंशीले बताए ।

‘बाहिर बढी हिँड्ने भएकाले चार दिनअघि मैले उहाँहरुलाई बोलाएर स्वाब संकलन गर्न लगाएको थिएँ’, उनले भने , ‘कसरी सर्यो खोज्नै पर्छ ।’यसअघि मेचीनगरपालिकामा सीमाको सुरक्षाका लागि खटिएका २० जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।योे संगै झापामा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ । कोरोन जितेर झापामा हालसम्म ३०४ जना घर फर्किएका छन् ।