२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा बाहिर हिडडुल गर्दा माक्स अनिवार्य गरिएको छ । माक्स अनिवार्य गरिएसंगै अब माक्स नलगाउनेलाई प्रहरीले जहाँ भेट्यो त्यहि जरिवाना रसिद काट्न सक्ने छ । जिल्लामा पहिलो पटक माक्स अनिवार्यको निर्णय भएको हो । यो बाध्यकारी बनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना अध्यक्ष रहेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा सङ्कट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो । यसको सर्कुलर मातहतका सबै कार्यालयहरु समेत भइसकेको जनाईएको छ । बुधबारबाट यसको कार्यन्वयन पनि हुनेछ ।

झापामा समुदायस्तरमा कोरोना संक्रमणको त्रास देखिएसंगै यो निर्णय भएको पाईएको छ । बारम्बार सरकार तथा सरोकारवाला निकायहरुले माक्सको प्रयोग अनिवार्य गर्न भनेपनि यसमा अटेर हुँदै आएको थियो । अब भने जरिवाना नै हुने भएपछि माक्स प्रयोग बढ्नसक्ने छ ।

मास्क नलगाई एक स्थानबाट अर्को स्थानसम्म हिँडडुल गर्ने, मास्क नलगाई भेलाजम्मा हुने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा – ३ बमोजिम १ सय रुपिया जरिवाना हुनेछ, जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेखछ ।

घर बाहिर मास्क नलगाई हिँड्ने प्रवृति माथि कुनै पनि सम्झौता नगरी अटेर गर्नेहरु बिरुद्ध कानून बमोजिम गरिने र निर्णयको कार्यान्वयन नेपाल प्रहरीको तल्लो स्तर सम्मको प्रहरी यूनिटबाट तदारुकता साथ गर्ने निर्णय कार्यन्वयन गरिन्छ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले भने ।