२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । झापाको भद्रपुरमा कतिपय नीजि तथा सामुदायिक विद्यालयहरुले पठनपाठन शुरु गराएकाछन् । विद्यार्थीहरु माक्स तथा ‘फेस सिल्ड’ लगाएर विद्यालय आउने गरेको पाईएको छ । झापामा अन्यत्र भने अधिकाँश स्थानीय तहमा विद्यालयहरु बन्द रहेकाछन् । नगरपालिकाले कार्यविधि बनाएर विद्यालय सञ्चालन गर्नेहरुलाई मापदण्ड पालना गरेर सञ्चालन गर्न दिन थालेको छ ।

नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार भद्रपुर नगर शिक्षा समितिको बैठकले बिद्यालय संचालनमा ल्याउन बिद्यालय संचालन कार्यविधि २०७७ लागु गरेको छ र यो अनिवार्य पालना गर्नु पर्नेछ । नेपाल सरकार तथा नगरपालिकाले जारी गरेको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उद्वार गर्न जारी गरिएका मापदण्ड, स्वास्थ्य एवं सुरक्षाको नियमहरु पालना गर्न गराउन कार्यबिधि बनाईएको जनाईएको छ ।

कार्यविधिमा सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठनका मुख्य पाँच पक्षहरु विद्यालय, बिद्यार्थी, अभिभाबक, ,स्वास्थ्य शाखा र शिक्षा ,युवा तथा खेलकुद शाखाले पालना गर्ने अलग÷अलग मापदण्ड तयार गरिएको छ । मापदण्ड पालना भए नभएको नगरपालिकाले अनुगमन गनए पनि थालेको छ ।

विद्यालयले कक्षा कोठा र बिद्यार्थी बस्ने सिट दुरी कायम गर्ने गरी राख्ने र शिक्षकहरुको पठनपाठनको कार्य तालिका तयारी गर्नुपर्ने उल्लेख छ । सावुन पानीले हात धुने ब्यवस्था, गुणस्तरीय स्यानीटाईजर, समयसमयमा तातो पानी पीउने ब्यवस्था लगायतका अन्य तोकिएका सबै स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु पर्ने उल्लेख छ ।

विद्यार्थीले अनिवार्य मास्क लगाउने, खाजा घर घरबाटै ल्याउने र आफुले मात्र खानु पर्ने, जथाभाबी हाच्छिँउ गर्न र थुक्न नपाईने, घरबाट बिद्यालय र बिद्यालयबाट घरको सोझो यात्राबाहेकका बजारमा अन्य संपर्क नगर्ने, ज्वरो,रुघाखोकि वा स्वास्थ्य प्रतिकुल भए बिद्यालय नआउने र सो को सुचना स्वास्थ्य शाखालाई दिनु पर्ने लगायतका नियम पालना गर्नु पर्ने बताईएको छ ।

भद्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम भुजेल विशेष गरेर माध्यमिक तहका विद्यालयहरु आंशिक रुपमा सञ्चालन हुन थालेकाछन् । हामीले औपचारिक रुपमा विद्यालय खोल्न आदेश वा निर्देशन दिएका छैनौ तर स्वास्थ्य मापदण्ड पालना गरेर आलोपालो गरेर पढाउन सहजीकरण गरेका छौ, भुजेलले भन्नुभयो । भद्रपुरमा ३१ वटा नीजि र ३१ वटा सामुदायिक विद्यालयहरुमा करिब १७ हजार विद्यार्थी अध्ययनरतछन् ।