२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

आजदेखि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण सुरु भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि सङ्घीय तथा प्रदेश सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा पिसीआर परीक्षण सुरु गरिएको हो ।

अस्पतालको पूरानै भवनको माथिल्लो तलामा स्थापना गरिएको पिसीआर ल्याबको बुधवार एक कार्यक्रमका बिच सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) र प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

स्विस सरकारले उपलब्ध गराएको अत्याधुनिक पिसीआर मेसिन प्रदेश नम्बर १ सरकारले मेची अस्पताललाई हस्तान्तरण गरेका थिए । ढिलै भए पनि सरकारले झापासहित इलाम, पाँचथर र ताप्लेजुङवासीको सेवा सुविधालाई मध्यनजर गरी झापा जिल्लामै कोरोनाको परीक्षणका लागि सहज वातावरण बनाइदिएकोमा उद्घाटन कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेका छन् ।

कोरोना भाइरसको महामारी देशभर फैलिरहेको अवस्थामा आम मानिसले पनि पिसीआर परीक्षण गर्नुपर्ने आवश्यकता रहेकोमा मेची प्रादेशिक अस्पतालमै सबैको सहयोगमा पिसीआर ल्याब स्थापना भएको सङ्घीय सांसद तथा अन्तर्राष्ट्रिय समन्वय समितिका सभापति पवित्रा निरौला (खरेल) बताइन् । ‘छिमेकी राष्ट्र भारतबाट फर्किएका व्यक्तिहरूमा बढी कोरोना भाइरसको संक्रमण देखा परेको छ,’ उनले भनिन्, ‘झापा भारतसँग जोडिएको जिल्लामा पर्छ, यहाँ स्वाब सङ्कलन गरिएकाहरूको पिसीआर परीक्षण गर्न विराटनगर र धरान पठाउनु पर्ने बाध्यता थियो, अब त्यो समस्या पनि आजदेखि अन्त्य भएको छ, यो हामी झापावासीका लागि खुसीको कुरा हो ।’