२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा कृष्णराज कोइरालाले जिल्ला प्रहरी कार्यालय झापामा आफ्नो कमाण्ड सम्हाल्न शुरु गरेसंगै चोरी पैठारीका सामानहरु ओसारपसार नियण्त्रणसंगै फरार अपराधिहरु पक्राउ कार्यलाई अघि बढाए, जसका कारण अहिले पुराना अपराधि पक्राउ पर्न थालेकाछन् । चोरी निकासीका पनि निक्कै ठुलो परिमाणमा सामानहरु भन्सार दाखिला भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले ज्यान मुद्धामा फरार रहेका एक ब्याक्तिलाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । साबिक टाघनडुब्बा गाविस ४ हाल झापा गाउँपालिका ४ बस्ने ४५ वर्षीय बिरिकलाल माझीको कुटपिट गरी हत्या गरेको आरोपमा झापा प्रहरीले साबिक जलथल गाविस ८ हाल हल्दिबारी गाउँपालिका बस्ने दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगरलाई घटना भएको १७ बर्षपछि पक्राउ गरेको छ ।

घटनापछि मगर घर छाडेर काठमाण्डौ, भारतको कोलकत्ता, दार्जिलिङ लगायतका विभिन्न स्थान, वैदेशिक रोजगारीको लागि मलेसिया, दुबई समेत गएका थिए । २०६० साल कार्तिक ३० गतेका दिन ससुरा नाता पर्ने विष्णुलाल माझीको घरमा उनकै छोरीसँग भेट गर्न आएका बिरिकलाल माझीलाई आरोपी थापा मगरसहित तीन ÷चार जना मिलेर सामूहिक रुपमा कुटपिट गरेको र यहि कारण मृत्यु भएको बताइन्छ । चुरोटको लिँदा हात छोएको निउमा झगडा भएको थियो ।

यस्तो छ प्रहरीले तयार पारेको र सार्वजनिक गरेको घटना विवरण-

मिति २०६०/०७/३० गते अ. २१;३० वजेको समयमा बिष्णुलाल माझीको घरमा निजको ससुरा नाताका जिल्ला झापा साविक टाघनडुब्बा गा.वि.स. वडा नं. ४ हाल ऐ. झापा गाउँपालिका वडा नं. ४ वस्ने वर्ष ४५ को बिरिक लाल माझि निजकै छोरीसंग भेटघाट गर्न भनी छोरीको घर आएको बेला सामान्य विवादमा जिल्ला झापा साविक जलथल गा.वि.स वडा नं.- ८ बस्ने तत्काल बर्ष २६ को दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगर लगायतका व्यक्तिहरुले कुटपिट गरी गम्भिर घाईते बनाई निज प्रतिबादीहरु भागि फरार रहेका र निज घाईते बिरिकलाल माझी उपचारको क्रममा निज प्रतिवादीहरुले कुटेको चोटको कारण मृत्यु भएको घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिवादी दुर्गा मगर भन्ने दुर्गा बहादुर थापा मगरको खोजतलाशको क्रममा मिति २०७७/०४/२२ गते जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक साकार राज पन्तको कमाण्डमा खटिएको बिशेष टोलिले निज प्रतिवादी दुर्गा बहादुर थापा मगर लाई जिल्ला झापा मेचिनगर न.पा वडा नं. १२ स्थित शहरेडाँगीबाट फेला पारी पक्राउ गर्न सफल भएको छ।
निज प्रतिवादी दुर्गा भन्ने दुर्गा बहादुर थापा मगर वारदात पश्चात आफ्नो घर वतनमा नबसी काठमाण्डौ, भारतको कोलकत्ता दार्जिलिङ लगायतका विभिन्न स्थान , वैदेशिक रोजगारीको लागि मलेसिया साथै दुबई देशमा समेत गई बसेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। निजलाई मिति २०७७।०४।२३ गते सम्मानित झापा जिल्ला अदालतबाट पहिलो पटक दिन ५(पाँच) म्याद थप गरी हाल अनुसनधानको लागि जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । निजले गरेको कसुर मुलुकी ऐन २०२० को ज्यान सम्बन्धि महलको दफा १३ बमोजिमको कसूर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही महलको १३ (३) बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

यसभन्दा अघि पनि एक हत्या काण्डमा संलग्न भनिएका अभियुक्तलाई १४ बर्षपछि प्रहरीले पक्राउ गरेको थियो । उक्त घटनाको प्रहरीले पठाएको विवरण यस्तो थियो-

मिति २०६३।१२।२४ गते अं. २०;०० बजेको समयमा जिल्ला झापा साविक टागनडुब्बा गा.वि.स वडा नं. ९ बस्ने नन्दुलाल विश्वकर्माकोको घरमा निजको ज्चाईँ जिल्ला झापा साविक मेचिनगर नगरपालिका वडा नं.-८ हाल ऐ.ऐ वडा नं.-५ बस्ने वारदातका बखत बर्ष अं. २७ को बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद विश्वकर्माले साईकलको बिषयलाई लिएर रक्शीको नशाको अवस्थामा ऐ.ऐ बस्नने बर्ष ३५ को नत्थु बि.कलाई कुटपिट गरी गम्भीर घाईते बनाई उपचारको लागि विराटनगर स्थित विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मिति २०६३।१२।२५ गते अं. १५;०० बजे प्रतिवादीले कुटेको चोटका कारण मृत्यु भएको घटना सम्बन्धमा वारदात पश्चात फरार रहेका प्रतिवादी बौदल लामगाधे बि.क भन्ने पुण्य प्रसाद विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापा एवं ई.प्र.का काँकडभिट्टा को संयुक्त टोलिले मिति २०७७।०३।३० गते जिल्ला झापा मेचिनगर न.पा वडा नं. ८ स्थित ईटाभट्टा चौकमा लुकिछिपि बसि रहेको अवश्थामा फेला पारी पक्राउ गरेको हो ।