दमकमा बाहिरका मान्छे आवतजावतमा रोक लाग्यो, निर्णय कार्यन्वयन होस भन्ने माग
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा भिडभाड बड्दा कोरोना जोखिम उच्च भएको भन्दै लकडाउन गर्नका लागि राजनीतिक दल लगायतका सामाजिक अगुवाहरुले आग्रह गरेपछि नगरपालिकाले केहि कडा गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले श्ुक्रबारदेखि लागु हुने गरी दमक बाहिरका मानिसहरु आवतजावतमा रोक लगाएको हो ।
यसैगरी दमक नगरपालिका भित्रका औषधी पसल बाहेक अन्य सबै किसिमका पसल व्यवसायहरु विहान ८ बजे देखि बेलुका ४ बजे सम्म मात्र खोल्ने पाउने पनि निर्णय भएको छ । पसल व्यवसाय संचालन गर्दा अनिवार्य रुपले भौतिक दुरी कायम गर्ने, व्यवसायी र ग्राहक दुवैले मास्क प्रयोग गर्ने तथा सेनिटाइजरको व्यवस्था गर्ने निर्णय भएको छ, दमक नगर उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीले भनिन् ।
भौतिक दुरी कायम नगरी एवम् स्वास्थ्य सुरक्षाको पालना गर्ने व्यवस्था नगरी संचालन भएका ठेला तथा फुटपाथ व्यवसाय बन्द गर्ने पनि समितिले निर्णय गरेको छ ।ड्ड मलामी जाँदा २५ जना भन्दा बढी भेला हुन नपाउने लगायतका निर्णयहरु पनि भएकाछन् ।
यस्ताछन् नगरपालिकाका निर्णयहरु-
- दमक नगरपालिका भित्रका औषधी पसल बाहेक अन्य सबै किसिमका पसल व्यवसायीहरु विहान ८:०० बजे देखि बेलुका ४:०० बजे सम्म मात्र खोल्ने पाउने ।
- पसल व्यवसाय संचालन गर्दा अनिवार्य रुपले भौतिक दुरी कायम गर्ने, व्यवसायी र ग्राहक दुवैले मास्क प्रयोग गर्ने र सेनिटाइजरको व्यवस्था गर्ने ।भौतिक दुरी कायम नगरी एवम् स्वास्थ्य सुरक्षाको पालना गर्ने व्यवस्था नगरी संचालन भएका ठेला तथा फुटपाथ व्यवसाय बन्द गर्ने ।
- हाट, बजार, मेला, जात्रा, पर्व जस्ता मानिसहरु भिडभाड हुने स्थान र कार्यक्रमहरु २०७७ भाद्र मसान्त सम्म बन्द नै राख्ने ।
- तरकारी बजारमा एक दिन विराएर वीचमा एउटा पसल खाली राखी पालैपालो संचालन गर्ने ।
- होटलहरुमा ग्राहक राखी खानेबस्ने व्यवस्था गर्न नपाउने । खाना प्याक गरी ग्राहक लाई दिने (Walk Away) सेवा संचालन गर्न सक्ने । सो पनि विहान ८:०० बजे देखि बेलुका ४:०० बजे सम्म मात्र ।
- अत्यावश्यक काम नपरी घरवाहिर कसैले हिँडडुल गर्न नपाउने । बेलुका ६:०० बजे देखि विहान ६:०० बजे सम्म हिँडडुल गर्न पूर्व रुपले बन्देज लगाउने ।
- अस्पताल आउने बिरामी, कार्यालयमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा रहने व्यक्ति बाहेक हाललाई २०७७ भदौ १५ गतेसम्म दमक बाहिरबाट कोही पनि दमक नगरपालिका क्षेत्रभित्र आउन नपाउने, अत्यावश्यक काम परी आउनुपर्ने भएमा वडाध्यक्षको सिफारिसमा मात्र आउन पाउने ।
- चाडपर्व मनाउँदा घरघरमै मनाउने । २०७७ भाद्र मसान्तसम्म भेला भई चाडपर्व, उत्सव मनाउने र नाचगान गर्न नपाउने ।
- सहकारी संस्था लगायत सबै संघ संस्था र कार्यालयहरुले २०७७ भाद्र मसान्त सम्म सबै भेला, गोष्ठी लगायतका कार्यक्रम स्थगित गर्ने । अत्यावश्यक कार्यका लागि भेला हुनुपरेमा १० जना भन्दा बढी भेला हुन नपाउने । १० जना भन्दा बढी भेला हुनुपरेमा नगरपालिकाको पूर्व स्वीकृति लिने ।बैंक, वित्तीय संस्था, सहकारी संस्थाहरुले यस नगरपालिकाबाट मिति २०७७।०२।०५ मा भएको निर्णयानुसारको तालिका अनुसार कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउने । कारोबार सञ्चालन गर्दा भौतिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्ड र व्यवस्थाहरुको पूर्ण पालना गर्ने ।
- मलामी जाँदा २५ जना भन्दा बढी भेला हुन नपाउने ।
- सिटि सफारी, टेम्पो, रिक्सा, भ्यान लगायतका सवारी साधन चलाउनु परेमा २ जना भन्दा बढी यात्रु राख्न नपाउने ।
- बिरामीलाई अस्पतालमा लैजानु परेको अवस्थामा वाहेक १ जना भन्दा बढी व्यक्ति मोटरसाईकलमा चढ्न नपाउने ।
- नीजि सवारी साधनमा नेपाल सरकारले तोकेभन्दा बढी मानिस चढ्न नपाउने ।
- राजमार्गमा चल्ने बाहेक दमक नगरपालिका भित्र बस, मिनिबस लगायतका यात्रु बाहक साधन प्रवेश गर्न नपाउने ।
- हाललाई दमक नगरपालिका संचालन हुने उद्योग, व्यापार व्यवसाय र निर्माण कार्यका लागि अन्यत्र बाट कामदार लाई काममा लगाउन नपाउने ।
- अति आवश्यक काम बाहेक अरु काम र सेवाका लागि २०७७ भाद्र मसान्त सम्म नगरपालिका, वडा कार्यालय र अन्य सरकारी कार्यालयमा भिडभाड हुने गरी नजान सबै नगरवासीहरुलाई अनुरोध गर्ने ।
- दमक नगरपालिका क्षेत्र वाहिर समेत कार्यक्षेत्र भएका सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुलाई दैनिक रुपले पालो गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सम्बन्धित पालिकाहरुलाई जानकारी गराउन अनुरोध गर्ने ।
- राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्य भौतिक दुरी र सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन गर्ने व्यवस्था वडा कार्यालयहरुले मिलाउने ।
- सबै अस्पतालहरुले स्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना तथा भौतिक दुरी कायम गरी स्वास्थ्य सेवा प्रवाहको प्रबन्धलाई निरन्तरता दिने ।
- आकस्मिक उपचारका लागि मात्र अस्पताल जान सबै नगरवासीहरुलाई अपिल गर्ने । आकस्मिक बाहेकका अन्य उपचार लिन टेलिफोन वा अन्य विद्युतीय माध्यमबाट लिन अनुरोध गर्ने ।
- मधुमेह, उच्च रक्तचाप, दम, मुटु, मृगौला रोगी वा अन्य दीर्घरोग भएका व्यक्तिहरु आकस्मिक अवस्थामा बाहेक घरबाहिर ननिस्किने ।
- संक्रमणको अवस्था र जोखिमका आधारमा नगरपालिकाले त्यस्तो क्षेत्र, टोल वा वडाको पहिचान गरी क्षेत्र बन्देज वा बन्दाबन्दी गर्न सक्ने ।
- माथि उल्लेख भएका निर्णयहरु कार्यान्वयन गर्न सबै वडा कार्यालय, राजनैतिक दल, सरकारी कार्यालय, संघसंस्था, टोल विकास संस्थाहरुले आ-आफ्नो ठाउँबाट सक्रियतापूर्वक कार्य गर्ने । सबै नगरवासीहरुलाई आफू, आफ्नो परिवार र समाजलाई यो कठिन चुनौतीको सामना केही समय घरभित्रै बसेर गरिदिनहुन आव्हान गर्ने ।
- माथि उल्लेख भएका निर्णयहरु उल्लंघन गरेमा, मास्क नलगाई हिँडडुल गरेमा वा निर्णय कार्यान्वयनमा अवरोध गरेमा नगरपालिका, प्रहरी र प्रशासनले नियमानुसार कारबाही गर्ने ।
