अनिश्चितकालका लागि दमक बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय, अत्यआवश्यक पसल तथा ब्यवसाय भने खुला रहने
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा कोरोना संक्रमण समुदायमा देखिएपछि दमक उद्योग बाणिज्य संघले आज राती १२ बजेपछि अत्यआवश्यक बाहेक सबै प्रकारका पसल तथा ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार ब्यवसायी र उपभोक्ताको सुरक्षाका लागि यो निर्णय गरिएको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसंग पनि यस बिषयमा छलफल भएको र सोहि अनुसार नगरपालिकालाई गरिदिन पनि आग्रह गरिएको श्रेष्ठले जनाए ।
दमकका एक ब्यवसायीमामा कोरोना संक्रमण पनि पुष्टि भइसकेको छ । उनि दमक शब्जि बजारका आलु ब्यवसायी हुन् । अत्यआवश्यकीय पसल तथा ब्यवसाय बाहेकका सबै पसल ब्यवसाय अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय लिईएको छ र यसलाई पालना गर्न अनुरोध छ, श्रेष्ठले भने । संघको निर्णय अनुसार शनिवार राती १२ बजेपछि देखि अर्को सूचना जारी नभएसम्म्म पसल तथा ब्यवसायहरु बन्द रहनेछन् ।
शनिवार दिउसो बाणिज्य संघको बसेको बैठकले यो निर्णय गरेको हो । यसभन्दा अघि दमक नगरपालिकाले आंशिक रुपमा लकडाउन घोषणा गरेको थियो । विहान ८ बजेदेखि ४ बजेसम्म पसल तथा ब्यवसाय खोल्ने निर्णय गरेता पनि संघले अर्को सूचना जारी नभएसम्म सबै बन्दको निर्णय लिएको छ ।
दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य नविनकुमार अग्रवालका अनुसार सम्भावित जोखिम कम गर्नका लागि यो निर्णय लिनु परेको हो । सबै ब्यवसायीहरुलाई सुरक्षित भएर बस्नका लािग आग्रह पनि गरेका छौ, उनले भने । रोगबाट बच्न र बचाउन हामी सबै लाग्नु आवश्यक देखियो, उनले भने ।
शुक्रबार दमकमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितहरु समुदायमा हेलमेल भएकाहरु रहेकाछन् । जसकारण समुदायमा कोरोना संक्रमणको जोखिम उच्च बनेको छ । उक्त जोखिमबाट ब्यवसायीहरुलाई बचाउन प्रयत्न गरिएको संघले जनाएको छ ।
