दमकमा होम आईसुलेसनमा बसेका कोरोना संक्रमितहरुको यस्ता छ अवस्था
विष्णुप्रसाद पोखरेल
दमक/ मलाई त न रुघा लागेको छ न त कुनै कोरोनासंग सम्बन्धित लक्षण नै छ, अरु कसैको रिर्पोट मेरोमा परेजस्तो लाग्छ, दमकमा होम आईसुलेसनमा बसेका एक कोरोना पोजेटिभ देखिएका ब्याक्तिले प्रभाजकारी न्यूजसंग भने । उनले ढुक्कले आफु आईसुलेसनमा बसेको र कुनै समस्या नरहेको सुनाए ।
अर्का होम आईसुलेसनमा बसेका संक्रमितको पनि उस्तै भनाई छ । मलाई कोरोना पोजेटिभ भयो भन्ने अलिकतापनि विश्वास नै छैन, उनले भने । मलाई कुनै प्रकारको लक्षण वा डर छैन, उनले थपे । अब थप हाम्रो परीक्षण चाहि कहिले हुन्छ ? उनको जिज्ञासा रहेको थियो ।
पछिल्लो एकसाता यता कोरोना पोजेटिभ देखिएका अधिकाँश होम आइसुलेसनमा रहेकाछन् । विशेष गरेर सरकारी कर्मचारी तथा घरमा बेग्लै सुरक्षित रुपमा आईसुलेसनमा रहन सक्ने अवस्था भएकाहरु घरमा रहेकाहुन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाले उनिहरुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी लिदै आएको बताइन्छ ।
दूइसाता अघिसम्म होम आईसुलेसनमा बस्ने ब्यवस्था थिएन । उनिहरुलाई कोभिड अस्पताल लगिदै आएको थियो । पछिल्लो समयमा लक्षण देखा नपरेका र सामान्य अवस्थामा रहेकाहरुले होम आईसुलेसनमा बस्न सक्ने ब्यवस्था सरकारले गरेको छ । स्थानीय सरकारले पनि यसलाई प्रयोगमा ल्याउन थालेकाछन् ।
होम आईसुलेसनमा रहदा केहि मापदण्ड पालना गर्नु पर्नेछ । पर्याप्त प्रकाश आउने र हावा ओहोरदोहोर हुने छुट्टै कोठा हुनुपर्नेछ। उपचार अवधिभर आवश्यक पर्ने सामान परिवारका सदस्यबाट मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोषिलो खानेकुरा खानुपर्नेछ।
संक्रमितको ज्वरो दिनमा तीन पटक जाँच गरी अभिलेख राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने छ। श्वास प्रश्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार नीलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराइहाल्नुपर्छ।
