२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

रमेश गुरागाँइ

कुलमान घिसिङबारे –

1. कुलमान प्रतिभाशाली भएकाले उनलाई अवसर दिए राम्रो काम गर्ने सम्भावना देखेर केपी ओली प्रधानमन्त्री र टोपबहादुर रायामाझी उर्जा मन्त्री हुँदा प्रबन्ध निर्देशक बनाउन तत्कालिन माओवादी केन्द्रको स्थायी समितिले निर्णय गरेको थियो ।

2. त्यसबेला तत्कालिन प्रबन्ध निर्देशक मुकेश काफ्लेले राजीनामा दिन मानेनन् । मनाउन सकिएन । त्यसै हटाउँदा अदालतबाट आदेश लिएर आइहाल्थे । अर्को वर्ष प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जा मन्त्री भइसकेका थिए । त्यसबेला के कसरी हो, काफ्लेले आफ्नो पदावधी केही महिना बाँकी छँदै राजीनामा दिए । र, कुलमानलाई सहजै विद्युत प्राधिकरणको कार्यकारी नेतृत्वमा नियुक्ति गरियो ।

3. कुलमानले नेपाललाई उज्यालो बनाउन कतिबेर लगाएनन् । सोचेभन्दा छिटो चुवाहट र घोटाला अन्त्य गरी उपलब्ध उर्जाबाट बिजुलीमा क्रान्ति ल्याउने काम उनले गरे । उनको टीमले गर्यो । 18 घण्टासम्मको लोडसेडिङ्गलाई उही उर्जाबाट शून्यमा झार्नु कुलमानको क्षमता र इच्छाशक्तिले मात्र होइन, उनमा भएको त्यस क्षेत्रको पर्याप्त प्रविधिक ज्ञान र अनुभवले पनि काम गर्यो । हामी नेपालीले कुलमानलाई कहिल्यै भुल्न सक्दैनौँ । कुलमान नेपालका सुयोग्य क्रान्तिकारी सपुत हुन् । कर्मचारी सरूवाबढुवामा चलखेल गर्न समेत उनले नदिएको बुझिन्छ । बिचौलिया र दलालहरू जति आक्रोशित भए पनि राम्रो काम गर्नेलाई कसैले सार्वजनिक रूपमा आलोचना गर्न समेत सकेनन् । कतिपय मन्त्री र प्रधानमन्त्री उनीसँग जति रिसाए पनि उनलाई चलाउने सोच्न पनि आँट गरेनन् ।

4. यतिबेला 4 वर्षका लागि पुन: प्रबन्ध निर्देशक नियुक्ति गर्ने बेला आएको छ । 4 बर्षको कुलमान काल सम्बन्धमा कुनै टिप्पणी छैन । उनलाई जतिसुकै पुरस्कृत गरे पनि त्यो कमै हुन्छ । दु:खको कुरा यो हो कि यसबीचमा जनजीविकालाई प्रवाभित गर्ने कुनै अरू क्षेत्रमा कुलमान भेट्न सकिएन । कुलमान बन्न कोही सकेनन् । अहिले विद्युत प्राधिकरणमा समेत अर्को कुलमान छ कि छैन ? शङ्का छ । त्यसैले हामी डराएर भन्दैछौँ – Kulman once more. हामीमध्ये कतिपयको विचार छ – Kulman for ever. जुन त्यति राम्रो पक्ष होइन ।

5. एक जना व्यक्ति मात्रले देश बन्न सक्दैन । ज्ञान र विज्ञान भन्छ – कुलमान अरू पनि हुन सक्छन् । अझ कुलमानभन्दा राम्रा पनि हुन सक्छन् । त्यसैले त्यस्ता क्षमताहरूलाई अघि ल्याउने ढोका बन्द नगरौँ । सबैमा एक कार्यकाल नै उचीत र बैज्ञानिक हुन्छ ।
बरू मुकेश काफ्लेहरू जस्तालाई सबै क्षेत्रबाट बन्ध्याकरण गर्ने उपाय गरौँ । स्मरणीय छ कि मुकेशले लोडसेडिङ्ग अन्त्य गर्ने कल्पना पनि गरेनन् । अझ काठमाडौँ उपत्यकामा 24 घण्टा विद्युत आपूर्ति सुचारू हुन थाल्दा पनि उनी नेपालभरिचाहिँ सम्भव छैन भन्थे । सम्भव भयो भने के के गर्छु भन्थे…. यहाँ उल्लेख नगरौँ ।

6. नेपालमा धेरै ठूलो राजनीतिक परिवर्तन भएको छ । परिवर्तन भएर पनि निकै समय बितेको छ । जनताको जीवन फेर्ने काम वा काम हुने लक्षण नदेखिनु चिन्ताजनक छ । हामीले शिक्षा निःशुल्क त बनायौँ तर कस्तो खालको निःशुल्क ? आफ्ना नानीहरू पढाउन नमिल्ने शिक्षा । स्वास्थ्य क्षेत्रमा थालनी त गर्यौँ तर झन् भेदभाव बढाउने व्यवस्था । रोजगारी कति कारूणिक र भद्रगोल ? कृषि सर्वसाधारण सबै डुब्ने खालको छ कि छैन ? पर्यटन थाल्दै नथाल्दै भएको पनि सकिने जस्तो । जताततै बिकराल स्थिति छ । हामी राजनीतिक नेतृत्व गर्नेहरू पहिला कुलमान बनौँ । अरू चाहिए जति कुलमान आफैँ जन्मिन्छन् ।