बबुरो किसान, कृषि क्रान्ति र बकम्फुसे कृषि मन्त्रालय, किसानको रगत मिश्रित आँशुको मर्म कस्ले बुझ्ने ?
विष्णुप्रसाद पोखरेल
दमक/ केहि बर्षयता निक्कै राम्रो भाषण चलिरहेको छ किसानलाई पेन्सन । शुरुवातमा त अब किसानका पनि एकदिन आउछ भन्ने लाग्यो । पसिना र रगत बगाएर मानिसको ज्यान बचाउने किसानको सम्मान हुने रहेछ भनेर धेरैलाई लाग्यो । किसानहरुले पनि सोचे अब केहि हुन्छ की ।
झापाको अर्जुनधारा नगरपालिकामा किसानले मल नपाएको झोकमा एक सहकारीको ब्यवस्थापकको कार्यकक्षमा आगो लगाउने प्रयास गरे । यो उक्त किसान भित्र रहेको पीडा प्रस्तुत भएको थिए । एक सामान्य किसान त्यो अवस्थामा किन पुग्यो ? उसको चाहाना जम्मा एक बोरा मलको थियो तर उसले कसै गर्दा पाएको थिएन ।
यो एउटा प्रतिनिधि घटना हो । राज्य तथा बिभागिय मन्त्रिप्रतिको आक्रोश हो । निकम्मा सरकारी संयन्त्र विरुद्धको प्रहार हो । दिनभर हलो जोतेर, रगत पसिना बगाएर केह मन धान फल्छ की भन्ने किसानले मल हाल्न नपाउदाको एउटा ज्वलन्त पीडा हो । तर बबुरो त्यो किसान पक्राउ पर्यो तर एक बोरा मल दिन नसक्ने सम्बन्धित निकायमाथि केहि हुन्न ।
कृषि क्रान्ति ओठे बाहेक केहि होइन भन्ने प्रमाणित यसले गर्छ । कृषि मन्त्रालय बकम्फुसे तरिकाले चलेको छ भन्ने यसले देखाउछ । किसानलाई मलसम्म उपलब्ध गराउन सकिन्न भने आखिर कृषि मन्त्रि र मन्त्रालय किन चाहियो ? किसानका सामान्य पीरमार्का बुझ्न नसक्ने र मल समेत पैसा तिर्दा पनि किसानले नपाउने यो कस्तो राज्य हो ?
कोरोनाभन्दा किसानलाई मल नभएका कारण भोली धान नफल्लाकी भन्ने चिन्ता ठुलो छ । त्यहि भएर कोरोनाको भयसंग समेत नडराई घण्टौसम्म ठेलमठेल लाइनमा लागि रहेको छ । तालपरे ति किसानमाथि राज्यले डण्ठा बर्साउन बेर छैन । पक्राउ गरेर हिरासतमा राख्यो भने अनौठो नमाने हुन्छ ।
