दमकलाई सामान्य अवस्थामा फर्काउने प्रयास, सरकारी कार्यालय तथा बित्तिय संस्थाहरु मापदण्ड अपनाएर खोल्ने निर्णय
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमण समुदायमा देखिएता पनि लामो समयसम्म लकडाउन कायम राख्दा यसले पर्न सक्ने असरहरुलाई ध्यान दिदै दमकमा लकडाउनलाई खुकुलो बनाउने निर्णय भएको छ । खुकुलो भयोभन्दैमा स्वास्थ्य सावधानी नअपनाउने तथा हेल्चेक्राई गर्ने प्रवृती नगर्न पनि अनुरोध गरिएको छ ।
आइतवारदेखि नियमित रुपमा दमकमा रहेका सरकारी कार्यालय तथा बित्तिय संस्थाहरुले सेवा दिन सक्नेछन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार आफै हामी सबै सचेत भएर कोरोनासंग जुध्नुको विकल्प नरहेकाले लामो समय लकडाउन गरेर मात्र निकास ननिस्कने देखिएपछि यो निर्णय लिईएको हो । हामीले सबै पक्षसंग छलफल र राय लिएर यो निर्णयमा पुगेका हौ, नगर प्रमुख ओलीले भने ।
सरकारी कार्यालयबाट प्रदान गरिने सेवा र कार्यहरू भौतिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड र आलोपालो मिलाई भिडभाड नहुने गरी गर्नुपर्नेछ, शुक्रबार नगर प्रमुख प्रमुख ओलीको अध्यक्षतामा बसेको कोराना भाईरस रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको बैठकले निर्णय गरेको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको कार्य संचालन भौतिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्डको पालना र आलोपालो मिलाई कार्यालय समयभित्र गर्नुपर्नेछ, दमक उद्योग बाणिज्य ंसंघका अध्यक्ष एवं उक्त समितिका सदस्य गोकुल श्रेष्ठ भने । विस्तारै सहज अवस्था ल्याउन खोजिएको हो, उनले भने ।
नगरपालिकाका उपप्रमुख गीता अधिकारीद्धारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ-
आज मिति २०७७ भदौ १९ गते नगर प्रमुख श्री रोमनाथ ओलीको अध्यक्षतामा बसेको कोराना भाईरस रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको बैठकमा गत २०७७ साल भदौ १४ गते देखी जारी निषेधाज्ञालाई अर्को निर्णय नभए सम्मका लागि देहायनुसार केही खुकुलो गर्ने निर्णय भयो ।
- दैनिक उपभोग्य सामाग्री खरिद बिक्री गर्नका लागि पसल, व्यवसायहरु बिहान ७:०० बजे देखि बेलुका ४:०० बजे सम्म मात्र खुल्ला गर्न पाईने छ ।
- दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि तोकिएको समयमा व्यापारी, व्यवसायले भौतिक दुरी कायम हुने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने व्यवस्था गर्नु पर्नेछ । भिडभाड हुने गरी व्यापार, व्यवसाय गर्न पाइने छैन ।
- औषधी पसल खुल्लै रहने छन् ।
- अस्पतालहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दुरी कायम गरी विरामीका लागि सेवा सुचारू गर्ने ।
- सडक वा अन्य कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको व्यापार, व्यवसाय गर्न पाईने छैन ।
- अति आवश्यक काम नपरी घरवाहिर निस्किन र हिडडुल गर्न पाईने छैन । अति आवश्यक कामका लागि घरवाहिर निस्किदा पनि १ जना व्यक्ति मात्र निस्किनु पर्नेछ ।
- लोकमार्गमा चल्ने अनुमति प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि प्रकारका सवारी साधन चल्न पाउने छैनन् ।
- नगरपालिका क्षेत्र भित्र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरकारी नम्बर प्लेट भएका सवारी साधन र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । अति आवश्यक काम परी नगरपालिका क्षेत्र भित्र सवारी साधन चलाउनु परेमा नगरपालिकाको अनुमति लिनु पर्नेछ । अत्यावश्यक कामका लागि कार्यालय जानुपर्ने कर्मचारीले परिचय पत्र लगाएर मात्र आफ्नो सवारी साधन चलाउन पाउने छन् ।
- होटल व्यवसायहरुमा प्याकिङ्ग गरी दिने Take Away सेवा बाहेक अरु सेवा संचालन गर्न पाईने छैन तर क्वारेन्टाईन वा आईसोलेसनको रूपमा अनुमति प्राप्त गरेका होटलहरू संचालन हुन सक्नेछन् ।
- कामदारलाई कार्य स्थल भित्रै सुरक्षीत रूपले राख्ने व्यवस्था गरी अत्यावश्यक निर्माण तथा उद्योग, कलकारखाना संचालन गर्न सकिनेछ ।
- कुनै पनि प्रकारका भेला, सभा, जुलुस, जात्रा, महोत्सव पर्वमा मानिस भेला गरी भिडभाड गर्न पाईने छैन ।
- सरकारी कार्यालयबाट प्रदान गरिने सेवा र कार्यहरू भौतिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड र आलोपालो मिलाई भिडभाड नहुने गरी गर्नुपर्नेछ ।
- मृत्यु संस्कारमा जादा २५ जना भन्दा वढी मलामी लान पाईने छैन ।
- बैंक तथा वित्तीय संस्थाहरूको कार्य संचालन भौतिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्डको पालना र आलोपालो मिलाई कार्यालय समयभित्र गर्नुपर्नेछ ।
- वाहिरबाट आउने मालबाहक साधनहरू वेलुका ५ बजेपछि मात्र संचालन र लोड अनलोड गर्न पाईने छ ।
- सैलुन, ब्यूटी पार्लर, मसाज पार्लर तथा पार्टी प्यालेसहरु पूर्ण रुपले बन्द रहने छन् ।
- सहकारी तथा अन्य संघसंस्थाहरुको साधारण सभा हाललाई स्थगीत नै राख्नु पर्नेछ ।
- कोरोना भाईरस संक्रमण बिरुद्ध स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउने र भौतिक दुरी कायम गराउने तथा संक्रमित ब्यक्ति उपर अवहेलना र दुर्व्यवहार हुन नदिन वडास्तरीय समन्वय समितिले सचेतना र सहजीकरण गर्ने ।
