बैकल्पिक सिकाईको नाममा अनलाईनमा पढाए जसो गरेर शुल्क लिन नीजि बिद्यालयलाई छुट ! भएन त लुट ?
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ नर्सरी तथा साना कक्षाका बिद्यार्थीहरुलाई अनलाईक कक्षा बारे जानकारी होला ? उनिहरुले बुझ्लन ? अनि स्थिर बनेर केहि घण्टा मोवायल तथा ल्यापटप वा कम्यूटरको स्क्रिनमा रहना सक्लान ? पक्कै पनि यो सम्भव छैन । अनि नीजि बिद्यालयहरुले यस्ता बिद्यार्थीहरुलाई अनलाईन पढाउने भन्ने त्यसैमा अभिभावक र सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायले पत्याउने ? र यसका लागि अनुमति दिने ? मासिक शुल्क तथा रजिष्ट्रेसन शुल्क लिन पनि छुट दिने ?
गम्भिर प्रश्नहरु उब्जेकाछन् । माध्यमिक अर्थात कक्षा ८ भन्दा माथिका बिद्यार्थीहरुका लागि जसोतसो अल्मल्याउन तथा केहि सिकाई प्रक्रियामा सहभागि गराउने अवस्था रहला तर त्यो भन्दा तलको कक्षामा अनलाईन शिक्षा कति प्रभावकारी हुन्छ यस बिषयमा गम्भिर भएर सोच्नु जरुरी छ । अभिभावकहरुलाई बोझमाथि बोझ थप्नका लागि इन्टरनेट जोडन लगाउने, ल्यापटप किन्न लगाउने वा राम्रो मोवाइल किन्न बाध्य पार्ने र शुल्क पनि मज्जाले लिने कार्य भएको देखिन थालेको छ । यो कार्य रोकिनु पर्दछ ।
स्थानीय सरकारले कति कक्षाभन्दा माथि अनलाईन कक्षा प्रभावकारी बन्छ र त्यसको मापदण्ड के हो ? बनाएरमात्र यसका लागि अनुमति दिनु पर्दछ । शुल्क पनि निर्धारण गरिनु पर्दछ । अनलाईन पढाई कस्तो भइरहेको छ अनुगमन गर्नु पर्दछ । किनकी माध्यमिक तहसम्म शिक्षाको जिम्मेवारी स्थानीय सरकारको हो । नर्सरी वा कक्षा १ को विद्यार्थीलाई पनि अनलाईन पढाउने भने मासिक शुल्क उठाउन थालिएको अवस्था छ दमकमा । यो रोकिनु पर्दछ । नगरपालिकाले रोक्नु पर्दछ ।
दमकको मात्र समस्या होइन यो झापा तथा नेपालभरको समस्या हो । यसले गर्दा स्थानीय सरकारहरुको तत्काल ध्यान जान जरुरी रहेको छ । बैकल्पिक शिक्षाको उपाय अवलम्बन गर्न सरकारले दिएको निर्देशन अनलाईन कक्षा सञ्चालन गरेर शुल्क असुल्ने अवसरको रुपमा नीजि बिद्यालयले लिनु हुन्न । नीजि बिद्यालय र शिक्षकहरुका पनि समस्यारु रहेकाछन् । लकडाउनले गर्दा समस्या नभएको भने होइन त्यसको क्षतिपुर्ति वा राज्यले दिन सक्ने सुविधा दिनु आवश्यक छ तर अभिभावकलाई त्यसको मार पारिनु हुन्न ।
अनलाईनको पहुँच भए र नभएका बिद्यार्थीहरुबीच बिभेद हुने पनि खतरा रहन्छ । अनि गरिब तथा बिपन्न परिवारले आफ्ना छोराछोरी यसमा सहभागि गराउन नसक्दाको त्यसबाट उत्पन्न हुनसक्ने मनोबैज्ञानिक समस्याबारे पनि बुझ्न जरुरी छ । अनलाइन कक्षा तथा शिक्षा आवश्यक छ तर यसको उपलब्धता, यसको उपयोगिता, यसको सहजता लगायतको बिषयमा पनि त गम्भिर भएर सोच्नु पर्दैन र ?

