सेती नदि जलबिद्युत आयोजनाले मार्यो ठुलो फड्को, ३ अर्ब ५० करोड लगानी सम्झौता
दमक/ छोटो समयमा नै हाइड्रोपावरको क्षेत्रमा कास्कीको सेती नदि जलबिद्युत आयोजनाले ठुलो फड्को मारेको छ । लगानीको शुनिश्चितता भएसंगै निर्माणको शुनिश्चितता भएको पाईएको छ । माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि बिहिबार वित्तीय सम्झौता सम्पन्न भएसंगै यसको परिकल्पना साकार हुने देखिएको छ ।
आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएसंगै यो निर्माण कार्यको लगानीको शुनिश्चितता भएको बताईन्छ ।
आयोजनामा एनएमबी बैंकले रु २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु ३ अर्ब ५० करोड लगानी गर्ने निश्चित भएको भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए। आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको उनको भनाई छ । बाँकी ३० प्रतिशत एक अर्ब ५० करोड रकम पूवद्र्धकको तर्फबाट लगानी गरिनेछ ।
५ अर्ब कुल लागत रहने आयोजनाको एक अर्ब ५० करोड रकम माछापुच्छ्रेका स्थानीयबासी र भिजन लुम्बिनीका तर्फबाट लगानी गरिने भिजन लुम्बिनीका पोखरेलले जानकारी दिएकाछन्।
आयोजनाको निर्माणको काम शुरु भइसकेको छ । आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरेल बताउछन्। सेती नदि जलबिद्युत आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।
लगानीकर्ताहरुले गरेको विश्वास, स्थानीयहरुले गरेको सहयोगलाई आत्मसाथ गर्दै अलिकति पनि बिलम्ब नगरि आफुहरु अघि बढ्ने प्रतिबद्धता पनि पोखरेलको छ । हामीप्रति गरेको विश्वास र भरोसालाई बुझेर यो आयोजना निर्धारीत समयमा पुरा गर्छौ, पोखरेलको भनाई छ ।
