दमकमा बहुतले बसपार्क बन्ने निश्चित !
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा बहुतले बसपार्क निर्माण हुने शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएकाछन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब सहित मन्त्रालयको टिमले नै दमकको प्रस्तावित बहुतले बसपार्क निर्माणस्थलको अवलोकन गरेको हो ।
दूईदिन अघि यहाँ आएका मन्त्री श्रेष्ठले बहुतले बसपार्क निर्माणको योजना अघि बढ्ने संकेत गरेकाहुन् । यसका लागि डिपिआर लगायतको काम भएको जनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दमकमा आएको समयमा यो बिषयमा प्रतिबद्धता ब्यक्त गरेका थिए ।
दमकमा ठुला र महत्वकाक्षी योजनाहरु आउने तर काम नहुने गरेको भन्दै बिरोध हुँदै आएको छ । यद्यपी प्रधानमन्त्री ओलीले निर्वाचन तथा त्यसपछि गरेका प्रतिबद्धताहरु पुरा हुँदै आएको नेकपाका स्थानीय नेताहरुले बताएकाछन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार दमकमा प्रधानमन्त्री ओलीले गरेका प्रतिबद्धताहरु अधिकाँश पुरा हुने बताएकाछन् । सबै कामहरु शुरु भएका तथा शुरु हुने चरणमा रहेको पनि उनको भनाई रहेको छ ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले भनेका योजनाहरु राष्ट्रको योजना भएकाले ति पुरा हुने र गरिने बताए । उनले पर्यटकीय र आर्थिक सम्बृद्धिसंग जोडिएका योजनाहरु पुरा गर्नका लागि बजेटको अभाव नरहेको र ईच्छाशक्ति पनि रहेको जनाए ।
दमक नगरपालिकाका अनुसार नगरविकास कोषमार्फत डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले बहुआयमिक/बहुतले बसपार्कको डिपिआर निर्माणको काम गरेको छ । नगर विकास कोषको ऋण लगानी र सहरी विकास मन्त्रालयको अनुदानमा बसपार्क बनाइन लागिएको पनि बताईएको छ। यसको लागत करिब ६० करोड लाग्ने अनुमान गरिएको रहेको जनाइन्छ ।
