मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले भनिन्- मलाई सहित म चढेको गाडि जलाउने प्रयास भयो र म भाग्यले बाँचे
विष्णुप्रसाद पोखरेल
दमक/ मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती चढेको मे१झ १७२ नंं गाडी जलाउने प्रयास भएको बताईएको छ । उप्रेती सवार गाडिमा पेट्रोल छर्केर आगो सल्काउन लाग्दा चालकले गाडि हुइक्याएपछि घटनाहुुनबाट बचेको जनाईएको छ ।
आज अपरान्ह ३ बजेतिर पूर्व पश्चिम राजमार्गको धाइजन र चारआली बीच खण्डमा मोटरसाईकलमा आएका युवकरुले बाटो छेकेर उप्रेतीको गाडीमा आगो लगाउने प्रयास भएको बताईन्छ । गाडि रोकेर उत्रनुहोस भने तर मैले मानिन्, उप्रेतीले भनिन् ।
त्यसपछि उनिहरुले मलाई पनि जलाईदिने भन्दै गाडिमा पेट्रोल छर्किए, उनले भनिन् । मैले चालकलाई गाडि बढाउन भने र तत्काललाई चालकले पनि गाडि हुइक्याएकाले बाँचे, उनले भनिन् ।
घटनाबारे जानकारी दिन उपप्रमुख उप्रेती प्रहरी कार्यालय आफै पुगिन् । त्रसित मुद्रामा रहेकी उनले हुलिया बताएपनि गाडि छेक्ने मोटरसाइकल नम्बर भने पत्ता नलागेको प्रहरीले जनाएको छ ।
आफुहरुको आन्दोलन रहेको र सरकारी गाडि जलाउन लागिएको भन्दै उपप्रमुख उप्रेतीलाई ति दूइ युवाले गाडिबाट उत्रन भनेको जनाईएको छ । उपप्रमुख उप्रेतीले सरकारी गाडि किन जलाउने ? भन्दै प्रश्न गर्दै नउत्रने अडान राखेको पनि बताईएको छ । मैले उत्रन मानिन र नमानेपछि म सहित नै जलाउने प्रयास उनिहरुले गरे, उप्रेतीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे जानकारी हुनसाथ अभियुक्तहरुको खोजी कार्यहरु शुरु गरिएको छ । उक्त घटनामा संलग्न भएको मोटरसाईकलको पहिचान नभएका कारण पत्ता लगाउन समस्या भएको छ ।
