२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

(मैले जे देखे त्यहि लेखे)

विष्णुप्रसाद पोखरेल/दमक

झापाको कमल गाँउपालिका वडा नं. ५ मा पाडाजुंगी अर्थात शशस्त्र प्रहरीको क्याम्प अगाडि अन्तराष्ट्रिय रंगशाला बन्छ भनेको दशक पुग्यो । बेलामौका राजनीतिक तथा सामाजिक कार्यक्रम हुँदै आएको खाली चौर अहिले पनि छ । आदिबासी रंगशाला तथा स्मृती पार्क भनेर अहिले पनि बोर्ड टासिएको छ । यहाँ मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला बनाउने निर्णय सरकारले गर्यो ।

स्थानीय स्तरमा बनेको रंगशाला निर्माण उपभोक्ता समिति र सत्तारुढ दल बाहेकले यसको विरोध गरे । नामकरणको बिषयमा विरोध रह्यो । जसका कारण आएको बजेट पनि फ्रीज हुँदै गयो । बीचमा नामको बिषयको विवाद मिलाउने प्रयास भएपनि निरर्थक भयो । कमल गाँउपालिकामा विवाद चलिरहदा बिर्तामोड नगरपालिकाले पनि आफ्नो नगरमा रंगशाला बनाउन प्रयत्न गरेको थियो तर बिर्तामोडले पार लगाउन सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ आँउदा गरेका भाषणहरुलाई आधार मान्ने हो भने यो रंगशालाको योजना चानचुने होइन । कम्तिमा पनि दूइ/चार अरब भन्दा माथिकै योजना हो ।  अहिले देशभर रहेका रंगशाला भन्दा कयौ गुणा सुविधा सम्पन्न रंगशाला हुनेछ । तर अब यो रंगशाला कमल गाँउपालिकाको सट्टा दमकमा बन्ने सम्भावाना देखिएको छ । किनकी यसका लागि दमक ३ मा सरकारले वनको जग्गा रंगशालाको नाम लिएर रुख काट्ने सम्मको निर्णय लिइसकेको छ ।

यो झापाबासीहरुका लागि खुसिको खबर हो । किनकी झापामा आधुनिक र सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको रंगशाला बन्दैछ । तर कमल गाँउपालिकाको लागि दूर्भाग्य हो किनकी एउटा ठुलो अवसर गाँउपालिकाले गुमाएको छ । लामो समय चर्चा कमल गाँउपालिकामा अन्तराष्ट्रिय रंगशाला बन्ने भयो भनेर चुलियो तर अन्तिममा दमक हुने निर्णय भयो ।

कतिपयले महत्वकाक्षी योजनाहरु आउने तर काम नहुने गरेको भन्दै पत्याएका छैनन् । विश्वस्थ श्रोतलाई आधार मान्ने हो भने अहिले धमाधम रुपमा डिपिआर तयार भइरहेको छ । केहि महिनाभित्रमा नै यसको शिलन्याससंगै काम थाल्ने तयारी भएको छ । जग्गा प्राप्तिको बिषय टुंगिएकाले यहाँ ठुलो समस्या छैन ।