२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली आँउदो फागुन १६ गते दमकको औधोगिक पार्क शिलन्यासका लागि आउने बताईएको छ । बदलिदो घटनाक्रमले कार्यक्रममा प्रभाव पर्न सक्ने आँकलन गरिएपनि पुर्व निर्धारीत कार्यक्रम नरोकिने जनाईएको छ । ओली आफ्नो निर्वाचन क्षेत्रमा आउन आतुर रहेको उहाँको नीजि सचिवालयले जनाएको छ ।

चीन नेपाल मैत्री औधोगिक पार्कका अध्यक्ष गोविन्द थापाले दमकमा पत्रकार सम्मेलन मार्फत यस बिषयको जानकारी गराएकाहुन् । प्रधानमन्त्री आउने कार्यक्रम रोकिएको छैन र प्रधानमन्त्री सहित विशिष्ठ ब्याक्तिहरुको उपस्थितिमा शिलन्यास हुनेछ, उनले भने ।यसभन्दा अघि नै ओली दमक आउने सार्वजनिक भएको थियो । करिब ५० हजार मानिसहरु औधोगिक पार्क शिलन्यासमा सहभागि गराउने भनिदै आएको छ ।

दमक, गौरादह र कमल गाँउपालिकामा औधोगिक पार्क बन्ने छ । काम शुरु भने कमलबाट हुँदैछ । पहिलो चरणमा शिलन्यास तथा उद्योगहरु निर्माण कमल गाँउपालिकामा पार्कको हुनेछ । त्यो दमक कमल र गौरादह जोड्ने रतुवा खोलाको पुल नजिकै पर्छ । यसै बर्ष यो पुल निर्माण सम्पन्न भएको हो । शिलन्यासको भोलिपल्टदेखि नै पार्कको काम शुरु हुने पनि थापाले जनाए ।

सरकारले कानूनी अड्चनहरु भएमा त्यो हटाएर सहज वातवरण बनाएको अवस्थामा पार्कमा लगानीको कुनै पनि समस्या छैन, थापाले भने । सरकार परिवर्तन वा अन्य कारणले विकासका कामहरुमा असर नपर्ने र नपर्नु पर्ने भन्दै यो काम संग अहिलेको राजनीतिसंग सरोकार नराख्ने पनि उनको भनाई थियो । यो सिंगो नेपालको गौरव गर्न लायक काम हुनेछ, थापाको दाबी छ ।

तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी रहनेछ । लगानीबोर्डले ६४ अरब लगानी स्वीकृत गरिसकेको छ ।

थापाले यो पार्क यस क्षेत्रको मात्र नभएर नेपालको एवं दक्षिण एशियामा नै नमुना बन्ने पनि बताए । काम गर्ने वातवरण तयार पार्ने हो भने बढिमा दूई बर्षभित्रमा संरचना बनाएर ठुलाठुला उद्योगबाट सामान उत्पादन शुरु हुन्छ, उनले भने । कहाँ बनाउने भन्ने ठाँउको चिन्ता छैन, लगानीको चिन्ता छैन र अनि बजारको पनि कुनै समस्या एवं चिन्ता छैन, थापाले भने । यो सबै जसले यहाँ लगानी गर्दैछ उसैले बजार देखि आवश्यक सबै बन्दोबस्ति मिलाईसकेको छ, थापाको भनाई छ ।