२०८१ बैशाख ६, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल/दमक

फागुनको महिना छ । हुरीबतास पनि चल्न थालेको छ । धुलोका कारण अहिले सडकमा हिडिनसक्नु हुन थालेको छ । त्यहि माथि टिपर र ट्याक्टरका कारण अहिले सडकमा हिड्न ठुलो समस्या पैदा भइरहेको छ । तर यसमा सरोकारवाला निकाय मौन छ । क्षमताभन्दा माथि बालुवा, गिटी र ढुंगा बोकेर हिड्दा सडकमा हिड्ने हरेक पलपल त्रसित बन्नु परेको छ ।

बारम्बार आवाज उठाउदा पनि टिपर र ट्याक्टरको ज्यादती रोक्ने प्रयास भएको देखिदैन । मोटरसाईकल, स्कूटी र अन्य सवारी साधनहरुलाई छेकीछेकी कार्वाही गरिरहेको देखिन्छ । ट्राफिक नियम पालना नगर्नेलाई कार्वाही गर्नु जायज छ गर्नुपर्छ तर त्यहि बाटोमा बसेका ट्राफिक तथा प्रहरीले ट्रिपर र ट्याक्टरले बालुवा, गिटी, ढुंगा क्षमताभन्दा बढि बोकेर सडकभरी झार्दै र उडाउदै दगुर्दा देखेको पनि नदेखेको झै गरिरहेको हुन्छ । मोटरसाईकल, सिटि, स्कूटरतिर मात्र किन ध्यान र यसतर्फ चाहि किन मौन ? वास्तवमा नै बिचित्र छ ।

त्रिपाल टाँगेजस्तो गर्ने र पछाडि खुला छाडेर उडाउदै हिड्ने ट्याक्टर तथा टिपर प्रहरीको आँखामा किन पर्दैन ? यो सोचनिय छ । पछाडि साईकलमा होस या मोटरसाईकलमा किन नहोस । अन्य साना सवारी साधनमा चढेको होस या पैदल हिडिरहेको उसको आँखाभरी बालुवा हुने अवस्था छ । स्वयं कयौ पटक मैले मोटरसाईकल रोकेर आँखा पुस्नु र धुनु परेको छ । ट्राफिक प्रहरीलाई गएर त्यस्ता ट्रिपरहरुको नम्बर टिपाएर कार्वाहीका लागि माग पनि गरेको छु ।

विडम्बना छ तर गुनासो गर्दा एकछिन रोक्ने भोली फेरी उस्तै । यहाँ टिपर सञ्चालकहरुको प्रभावमा परेको भान हुन्छ । होइन भने किन कार्वाही हुँदैन ? किन यस्तो हर्कत रोकिदैन । दमक र कमलगाँउपालिकाको सडकमा यसै कारण पनि दुर्घटना बढेको हुनसक्छ यसतर्फ किन ध्यान जादैन । बालुवा, गिटी जसरी नै बोक्न पाउने र कुनै नियम पालना गर्नु नपर्ने भनेर कहि लेखेको भेटिएको छैन र देखेको छैन ।

दमक र कमलको कुरा गर्ने हो भने खोलाबाट क्षमताभन्दा बढि र धुलो उडाउदै ट्रिपर एवं ट्याक्टर ल्याउदा बाटोमा कम्तिमा पनि ६ देखि ८ ठाँउमा ट्राफिक एवं प्रहरीले देखेको हुन्छ तर उनिहरुलाई केहि कार्वाही हुन्न । पाडाजुंगीमा रहेको प्रहरी बिट अगाडिबाट नै पाडाजुंगी गौरीगन्ज सडकमामात्र पनि यसरी सयभन्दा बढि टिपर तथा ट्याक्टर कुद्छन् । उनिहरुलाई न राम्ररी छोप्न भनिन्छ न त कार्वाही नै गरिन्छ । यो किन भइरहेको छ ?

अझ कृषि प्रयोजनका लागि लिएका ट्याक्टरहरुको खोलाको बालुवामात्र बोक्न प्रयोग भइरहेको छ । पछिल्लो समय टिपरहरुको हुइकाई आसपासमा रहेका साना सवारी उडाउला झै देखिन्छ । टिपर पनि ठुला प्रकारका आएकाछन् । उनिहरुको सडक सम्राज्य छ । तर यहाँ प्रशासन कहाँ छ ? यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जाओस र यस्तो हर्कत गर्ने सबै टिपर एवं ट्याक्टरहरुलाई कार्वाहीहोस । त्यो कार्वाही गरिएको सार्वजनिक गरियोस ।