२०७७ चैत्र २९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक नगरपालिकामा कार्यकारी अधिकृत भएर जब युवराज दाहाल आए त्यहि बखत देखि नै चिनजान भयो । त्यो भन्दा अगाडि चिनजान थिएन । उनि कार्यकारी अधिकृत भएर आएपछि शुरुवात देखि नै बिभिन्न तह र तप्काका दमकका अगुवाहरुलाई भेट्ने गर्थे । कार्यालय समय सकिएपनि पनि चिया तथा कफी खान भन्दै बोलाएर दमकको विकास र सम्बृद्धिको बिषयमा छलफल गर्थे ।

करिब ५ बर्ष अघि जतिखेर जनप्रतिनिधिहरु आईनसकेको अवस्था थिएन । उनि जनप्रतिनिधि झै कम गर्थे । योजना तथा केहि माग लिएर आउनेहरुलाई त्यसै फर्काउदैन थे । जसका कारण कतिपयले आलोचना पनि गर्थे । तर आलोचना गर्नेहरुले खुलेर गर्दैन थे । उनले सबैलाई मिलाएर र समेटेर अघि बढेकाले पनि उनको आलोचना हुन्नथ्यो । ठुला र गर्न नसक्ने योजना ल्याएको भनेर त्यो समयमा उनको टिप्पणी हुन्थ्यो तर अहिले ति योजनाहरु कार्यन्वयन भइरहेकाछन् ।

जनप्रतिनिधि नआएको अवस्थामा दाहालले ल्याएका दमकमा सकारत्मक कदमहरुले अहिले दमक सम्बृद्ध बन्ने दिशातर्फ उन्मुख भएको देखिन्छ । दमक भ्यू टावर उनको परिकल्पना र जोडबल हो । प्रधानमन्त्री केपी शर्मा ओली दमकमा भएको एक कार्यक्रममा युवराज दाहाल भ्यू टावर नामकरण गरे फरक नपर्ने भनेर यसको देन उनकै रहेको सार्वजनिक रुपमा नै बताएका थिए । त्यो समय दमकमा औधोगिक पार्क, विश्वमा अग्लो बुद्ध मुर्ति, दमकमा नेपालकै सबैभन्दा ठुलो सभागृहको योजना नीति तथा कार्यक्रममा समावेश गराउन उनले भूमिका खेलेका थिए । त्यो समयमा राजनीतिक दलहरुको संयन्त्रले स्थानीय निकायहरु चलाएका थिए ।

उनी औधोगिक पार्कको बिषयमा छलफल गर्न चीन पनि गएका थिए । त्यो समय शुरु गरिएको औधोगिक पार्कको शिलन्यास आईतवार हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली पार्क शिलन्यासका लागि आउने कार्यक्रम रहेको छ । पार्क निर्माणको कामलाई यो अवस्थासम्म ल्याउनका लागि पनि उनको भूमिका महत्वपुर्ण छ । दमक रहदा उनले नीति तथा कार्यक्रममा ल्याएका योजना पुरा गराउन उनि प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि सचिवालयमा गएपछि पनि लागि रहेका थिए ।

उनि प्रधानमन्त्री ओलीका नीजि सचिव बनेर दमकबाट गएका थिए । २०२९ सालमा जन्मिएका दाहाल लखनपुरबाट बसाई सरेर धनकुटा गएका थिए । उनको जन्मथलो साविक लखनपुर र हाल कमल गाँउपालिका हो । पछिल्लो समय उनि काठमण्डौको स्थायी बासिन्दा बनेका थिए । बिडम्बना २ बर्ष अघि २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा उनको निधन भयो ।

हेलिकप्टर दुर्घटनाको खबर बाहिर आइरहदा दमक नगरपालिकाको नगरसभा भइरहेको थियो । नगर सभा चलिरहदा दाहाल सवार हेलिकम्टर दुर्घटना भएको सुनेपछि जनप्रतिनिधि देखि कर्मचारीहरुसम्म आँशु चुहाउदै सभा हलबाट निस्केका थिए । तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी समेत सवार हेलिकप्टर ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको मृत्यु भएको थियो । त्यसमा दहाल पनि रहेका थिए ।