२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखे

दमक/ झापाको दमकमा दोस्रो पटक खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने कार्य हुँदा दमकका होटलहरुको अवस्था निराशजनक देखिएको छ । यो यस क्षेत्रका लागि दुखद र हामी कस्तो होटल तथा रेष्टुरेन्टमा गएर खाईरहेका छौ भन्ने चिन्ता हो । खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ को मापदण्डको आधारमा दमकका होटलहरुको अवस्था कमजोर भेटिएको छ ।

खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्टको स्तरीकरण गर्न विभिन्न ५० ओटा सुचांक तयार पारिएको छ । यही सुचांकको आधारमा होटलहरुको चार तहमा वर्गिकरण गरिन थालेको हो । होटल रेस्टुरेन्टको स्तर अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार तहमा वर्गिकरण गरिएको छ ।

होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखि माथि अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरीकरण लोगो प्रदान गरिदै आएको छ । यो अभियान देशभर चलेको छ । दमकमा पनि दूई बर्ष अघि नै यसको शुरुवात भएको थियो ।

होटलहरुमा सूचक अनुसार ८० भन्दा माथि ८९ अंक ल्याउनेलाई २ तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टीकर, ६५ देखि ७९ सम्मको अंक ल्याउने १ तारा र (ग) सहित सन्तोषजनक हरियो स्टीकर टाँस गरिन्छ । ५० देखि ६४ अंक ल्याउनेलाई सामान्य (ङ) सहित सामान्य लेखिएको पहेलो स्टीकर प्रदान गर्ने जनाईएको छ ।

दमकमा पछिल्लो समय यहि साता भएको अनुगमनमा एउटा पनि होटल अति उत्तम भेटिएन । दूई बर्ष अघि अनुगमन गर्दा उत्तम पाईएको होटलहरु अहिले स्तरीकरण गर्दा झन् खस्केको पाईएको छ । उत्तम भनेर स्टीकरण टाँस भएका होटल अहिले सन्तोषजनकमा झरेकाछन् ।
खाद्य प्रविधि तथा गुण नियण्त्रण कार्यालय बिराटनगर र दमक नगरपालिकाले संयुक्त रुपमा अनुगमन गर्दा केहि चलेका भनिएका होटलहरु अन्तिम ग्रेडमा परेकाछन् । होटल डाँडाघरे र स्याडोजले अन्तिम अर्थात ‘घ’ श्रेणीको स्टिकर पाएकाछन् ।

यसभन्दा अघि उत्तम अर्थात ‘ख’ श्रेणीमा परेका होटलहरु पनि यो पटक मापदण्ड अनुसार नभेटिएपछि ‘ग’ श्रेणीमा झरेकाछन् । यसलाई हेर्ने भने दमकका होटलहरु सामान्य अवस्थाका मात्रछन् । अधिकाँश होटलहरु स्तरीकरणको क्रममा (ग) अर्थात सामान्य र (घ) अर्थात अन्तिम श्रेणीका मात्र पाइएपछि यो खुलेको हो ।

५० वटा सूचक बनाएर त्यस अनुसार अंक निर्धारण गरेर होटलको स्तरीकरण भएको हो । प्रत्येक एकवटा सूचकमा २ नम्बर तोकिएको छ । ५० भन्दा कम अंक ल्याउनेले अन्तिम श्रेणी अर्थात खाद्य स्वच्छतामा सबैभन्दा कमजोर मानिने जनाइन्छ । होटल तथा रेष्टुरेन्टको स्वच्छतता कायम गराउनका लागि शौचालयदेखि लिएर भाडवर्तनको सफाईसम्म, त्यहाँको कामदारको अवस्थादेखि लिएर त्यहाँ पकाईने खानेकुरासम्मलाई आधार बनाईएको पनि जनाईएको छ ।

दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेका अनुसार दमकका होटलहरुमा खाद्य स्वच्छतता राख्नका लागि पहल गर्नु पर्ने अवस्था देखिएको छ । यो स्तरीकरण तथा अनुगमनले सुधार गर्नका लागि अवसर दिएको उनको भनाई छ । यो अभियान देशभर चलेको छ । दमकमा पनि दूई बर्ष अघि नै यसको शुरुवात भएको थियो ।