२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । झापाको दमकमा सञ्चालनमा रहेका अस्पतालहरुले सेवा विस्तार गर्ने क्रम बढ्दै गएको छ । यसैक्रममा सोमबार दमक ९ मा रहेको निम्स नेश्नल अस्पतालले आई.सि.यु र एनआईसियु सेवा शुरु गरेको छ । स्वास्थ्य बिमा कार्यक्रम लागु भएको यस अस्पताल अहिले २५ बेडको रहेको र ५० बेडको स्वीकृतीका लागि आवश्यक प्रक्रिया पुरा गरिएको अस्पतालका अध्यक्ष बलभद्र कोइरालाले बताउनु भयो ।

दमकमा अहिलेसम्म कुनै पनि अस्पतालमा नरहेको सिटि स्क्यान मेशिन पनि आफुहरुले ल्याउन लागेको र प्रक्रियामा रहेको उहाँले जानकारी दिनु भएको छ । सिटि स्क्यान सुविधा नहुँदा यहाँका विरामीहरु झापाको बिर्तामोड, मोरंगको बिराटनगर वा सुनसरीको धरान जानु पर्ने अवस्था रहदै आएको छ । ५० बेडका लागि आवश्यक पुर्वधार पुर्याएका छौ र प्रक्रियामा रहेको छ, कोइरालाले भन्नुभयो ।

आईसियु र एनआईसियु सेवाको उद्घाटन गर्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले अस्पतालहरु सुविधा सम्पन्न बन्नु नगरबासीहरुका लागि खुसिको सन्देश भएको भन्दै ब्यापारभन्दा बढि सेवामा ध्यान दिन आग्रह गर्नु भयो । उहाँले अस्पतालहरुलाई सेवा विस्तार गर्न तथा अधिकतम रुपमा दमकका विरामीहरुले सेवा पाउने अवस्था सिर्जना गर्न सहजीकरण गर्ने बिषयमा नगरपालिका सहजिकरण गर्न तयार रहेको पनि प्रतिबद्धता जनाउनु भयो ।

यसभन्दा अघि दमकमा आम्दा अस्पताल, लाईफलाईन अस्पताल, एडभान्स अस्पतालले आईसियु तथा एनआईसियु सेवा शुरु गरेका थिए । दमकका अधिकाँश अस्पतालहरुलाई नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमाको उपचारका लागि मान्यता दिएपछि अस्पतालहरु सेवा विस्तारमा लागेकाहुन् ।