२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखे

दमक/ झापा दमकका सडकहरुको अवस्था देखेर बाहिरका मान्छे छक्क पर्थे । सडकहरु होस त दमकको जस्तो पनि भनेर सामाजिक सञ्जालहरुमा समेत लेखेको देखिन्थ्यो । जन सहभागितामा साच्चै नै राम्रा सडकहरु बनेका थिए । तर अहिले दमकका सडकहरुको बेहाल छ भन्दा फरक नपर्ला । विकासको नाममा विनाश भइरहेको छ । ब्यवस्थित र सुरक्षित ढल बनाउने योजना भन्दै सडकहरु बेहाल तवरले भत्काईएको छ ।

अरु त अरु मुख्य पुर्व पश्चिम राजमार्ग अन्तरगत दमकको ट्राफिकमोड (ट्राफिक कार्यालय जानेबाटो) अगाडिदेखि दीपेनी कल्भर्टसम्म सडक विस्तारको क्रम अलपत्र छाडिएको छ । यहाँ यति धुलो उठ्छ की भनि साध्य छैन । कमसेकम यहाँ पानी छिटेर धुलोको समस्या कम गर्न सकिन्थ्यो र सकिन्छ तर यति सानो बिषयमा समेत ध्यान दिएको पाइदैन । स्थानीय सरकारले र सडक कार्यालयले यो किन देखेको छैन ? अचम्म छ । ब्यवस्थित ढल बनाउन भनेर बाटो भत्काएर दमक बजारक्षेत्र नै अस्तब्यस्त र धुलाम्मे हुँदा पनि तै चुप मै चुप किन ?

यसले गर्दा आसपासका पसल तथा ब्यवसायीमात्र होइन यहाँ आउने ग्राहक एव उपभोक्ता तथा यात्रु समेत हैरानछन् ।पहिलो चरण अन्तर्गत ढल व्यवस्थित रुपमा संकलन गर्न पाइपिङ गर्ने काम धमाधम भइरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्र्तगत दमक नगरपालिका ढल निर्माण योजनाको काम अघि बढाइएको बताईन्छ । यस क्रममा दमकका सडकहरु भताभुङ्ग भएकाछन् । अब कहिले बन्ने हो शुनिश्चित छैन ।  कतिपय भित्रि सडक पुरै खनेर सामान्य आवतजावत गर्न समेत मुश्किल हुने अवस्था सिर्जना गरिएको छ ।

कमसेकम ढल बनाईसकेर पुरिएको ठाँउमा थुपारिएको माटो मिलाईएको छैन । धुलाम्मे बनाईएपछि छ र धुलो नउड्नेगरी कुनै ब्यवस्थापन गरिएको छैन । जसले गर्दा एकातिर धुलोको पीर छ भने अर्कोतिर सडक अस्तब्यस्त बनाईएकाले दुर्घटनाको डर उस्तै छ । तर पनि सरोकारवाला निकाय तथा मुख्य जिम्मेवार स्थानीय सरकार यस्तो दृश्यप्रति बेखबर झै रहेको छ । जहाँ काम सकियो त्यहाँको सडक पीच गर्न नसकिएपनि मिलाएर हिडडुल गर्न सहज त बनाउन सकिन्छ होला नी ?

विकासको काम हुनुपर्छ र यसमा विरोध कसैको पनि रहनु हुदैन । तर विकासका काम हुँदा पनि अधिकतम रुपमा कम क्षति हुने गरी गर्नु पर्ने हो । स्थानीयहरुलाई पनि असर नपर्ने गरी काम गर्नु पहिलो दायित्व होला । असर पर्यो भने असर कम गर्नका लागि उपायहरु खोजिनु पर्ने हो । धुलोको समस्या सामधान गर्नका लागि दैनिक ३ देखि ४ टकसम्म पानी छिट्ने हो भने पनि राहत मिल्थ्यो । भत्काईएका सडकहरुको लेबल मिलाएर छाड्दा पनि हिडडुलमा समस्या हुने थिएन । तर जसले जे गर्दा पनि हुन्छ झै देखिन्छ । यसमा न स्थानीय सरकारले बोलेको छ न काम लगाउने सरकारी निकाय नै । सबै रमिते ।