२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखे

देशमा दोश्रो चरणमा कोरोनाको महामारी शुरु भएको छ । फेरी पनि एकपटक कोरोनको कहरले जनजिवन समस्याग्रस्त बन्न सक्ने संकेत देखा परिरहेको छ । यसले गर्दा आफु सावधानी अपनाउनेसंगै अब आफु र आफ्नो परिवारलाई कसरी बचाउने ध्यान त्यता केन्द्रित गर्नु पर्ने अवस्था देखिदैछ ।

छिमेकी मूलकमा भएको भयाभह अवस्थालाई नियालिरहेका छौ । यसले गर्दा त्यो अवस्था भोली यहाँ पनि नआउला भन्न सकिन्न । यसर्थ समयमा नै तयारी जरुरी रहेको छ । मानिसको ज्यान भन्दा ठुलो अन्य केहि हुनसक्दैन यसर्थ यसमा ध्यान जानु आवश्यक छ । नागरिक बचेमात्र अर्थतन्त्र र राजनीति बच्छ भन्ने ख्याल राख्नु पर्दछ ।

स्थानीय सरकार, सामाजिक संघसंस्था र सरोकारवाला निकायहरु गम्भिर बन्ने बेला आएको छ । भोली भयाभह अवस्था आउदा ताउरमाउर भन्दा अहिले नै यसको तयारीमा जुटिएपनि भोलीको अवस्था अकल्पनीय बन्न सक्छ । भारतबाट आएर सिधै घरमा बस्ने तथा आफन्तको शरणमा लाग्ने क्रम धेरै बढेको छ । जो कोहि पनि शंकाश्पद ब्याक्ति आँउदा अब सिधै क्वारेन्टाइन र बिरामीलाई अस्पताल तथा आइसुलेसनमा राख्ने ब्यवस्था मिलाईनु पर्छ । यसमा दमक सहित झापाका सबै स्थानीय सरकारको ध्यान जानु जरुरी छ ।

झापाको बिर्तामोड र भद्रपुरमा अस्पतालहरुले अहिले देखिनै अक्सिजनको प्लान्ट राख्न थालिसकेकाछन् । तर दमकमा भने अस्पताल तथा सरकारी कोभिड अस्पताल र आईसुलेसन सेन्टरहरु अहिले पनि खुलेका छैनन् । यो दुखद कुरा हो । अब कोभिड भएकाहरुलाई अस्पतालमा र शंकाश्पदहरुलाई क्वारेन्टाइनमा राख्न ढिला गरिनु हुन्न । सुक्ष्म रुपमा अध्यन गरेर र बिज्ञहरुसंग छलफल गरेर आंशिक वा पुर्ण लकडाउन गर्नु पर्दछ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जारी गरेको निर्देशन हामी कसैले पनि पालना गरेको थिएन । पालना गराउन पनि सकेको देखिदैन । यसले गर्दा जोखिम बढ्दो अवस्थामा रहेको छ । यसमा सबै सचेत र शतर्क बन्न अत्यन्तै जरुरी भइसकेको छ । कोरोनाको लक्षण मिल्ने विरामी क्लिनिक तथा अस्पताल आउनसाथ अन्यत्र रेफर गर्ने वा घरमा बस्न भनेर सल्लाह दिइदा यसले झनै ठुलो खतरा निम्तन सक्छ ।

आइतवार साँझ दमक चोकमा क्लिनिकमा एक विरामी यता र उता भौतारिरहेका थिए । उनमा १०४ डिग्रि ज्वरो र खोकी आएको रहेछ । उनि भारतबाट फर्केको भन्ने पनि बुझिएको छ । उनि भौतिरिदै कति ठाँउ पुगे होला ? यसले कति जोखिम बढाएको होला ? यस्ता विरामीहरुको चाप अब क्लिनिक तथा अस्पतालहरुमा बढ्न सक्छ र के गर्ने भनेर स्थानीय सरकारले निर्देशन गर्न आवश्यक देखिन्छ ।

कतिपय बिद्यालय तथा होस्टेलहरु अहिले पनि दमकमा सञ्चालनमा नै रहेकाछन् । यसमा पनि ध्यान जानु पर्दछ । सामाजिक, राजनीतिक लगायतका समुहमा हुने कार्यक्रमहरु पनि रोकिएको छैन । यस तर्फ सरोकारवाला निकायहरुको ध्यान जाओस ।

प्रमुख शहरहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिन मन्त्रिपरिषद्‌मा सिफारिस भएको छ । यो विकेन्द्रिकित हिसावले निक्कै महत्वपुर्ण छ । प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको पाईएको हो । यसको कार्यान्वयनका लागि स्थानीय सरकारले सहयोग गर्नु पर्ने देखिन्छ ।