दमकको यथार्थ बुझ्न छिटो भन्दा छिटो धेरैको कोरोना जाँच गरौ-डा.प्रकाश शर्मा
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणदर पछिल्लो समयमा बढ्दै गएको पाईएको छ । झापामा दमकमा कोरोना संक्रमणदर सबैभन्दा बढि बढ्दै गएको देखिन्छ । स्वतस्फूर्त रुपमा जाँच गर्ने क्रममा देखिएको रिर्पोटमात्र सार्वजनिक भएको छ । अहिले पनि स्थानीय सरकार तथा सरकारी तवरबाट स्वाव संकलन र जाँच हुन सकेको छैन ।
आम्दा अस्पताल दमकका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश शर्माले सबैभन्दा पहिला कोरोना जाँचको दायरा बढाउनु पर्ने बताए । उनले जबसम्म जाँचको दायरा बढाएर स्वास्थ्य संस्था तथा आफै स्वास्थ्यजाँच गर्न नसक्नेहरुको जाँच हुन सक्दैन तवसम्म वास्तविक रिर्पोट आउन नसक्ने उनको भनाई थियो ।
वास्तविकता आयो भने कसरी तयारी गर्ने भन्ने पनि हुन्छ र सोहि अनुसारको तयारी हुन्छ, उनले भने । डा. शर्माले आम्दा अस्पताल दमकमा पनि बिगतमा समेत कोरोना संक्रमितको उपचार गरिएको जनाउदै अहिले पनि तयारी रहेको बताए ।
शर्माले कोरोना संक्रमतिको उपचारमा संलग्न रहने स्वास्थ्यकर्मीहरुले सरकारी अस्प्तालहरुमा थप अतिरिक्त जोखिम भत्ता पाउने भएपनि यहाँ अस्पतालले दिन नसक्ने भएकाले यस बिषयमा गम्भिर भइदिन पनि आग्रह गरे । आम्दा अस्पताल दमकको सामुदायिक अस्पताल हो ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सहित सरोरकावाला निकायका प्रतिनिधिहरु सहभागि रहेको छलफल एवं अन्तरक्रिया कार्यक्रममा डा.शर्माले यस बिषयमा ध्यानकर्षण गराएका थिए ।
