२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ फेरी कोरोना संक्रमणको महामारी फैलन सक्ने र काठमण्डौ लगायतका कतिपय क्षेत्रहरुमा निषेधाज्ञा एवं लकडाउन हुन थालेसंगै यसको प्रभाव देशभर पर्न थालेको छ । यसै क्रममा दमकमा पनि यसको प्रभाव परेको देखिन्छ । लकडाउन हुनसक्ने र बाहिरबाट सामानहरु नआउन पनि सक्छ भन्दै उपभोक्ताहरु दैनिक उपभोग्य सामाग्रिहरुको जोहमा लाग्दा अहिले बजारमा ब्यवसायीहरुले मूल्य बढाएको आरोप लाग्दै आएको छ ।

दैनिक उपभोग्य सामाग्रिहरुको मूल्य ब्यवसायीहरुले आफु खुसि लिन थालेको गुनासो आउन थालेको छ । सामाजिक सञ्जाल फेसबुकमा पनि यस बिषयमा टिकाटिप्पणी र असन्तुष्टिहरु पोखिन थालेकाछन् । दमकका ब्यवसायी एव युवा सामाजिक अगुवा मेघनाथ फुयाल फेसबुकमा लेख्छन्- बजार व्यापक अनियंत्रित कालोबजारी यति मौलाएको छ, मान्नुस या नमान्नुस भाउ नबढेको चिज केही छैन, के सरकार छ देशमा ?

एक होलसेल ब्यवसायीका अनुसार तेल, चीनि, दाल लगायतका अत्यआवश्यकीय सामाग्रिमा दिनहु मूल्य बृद्धि भइरहेको छ । होलसेलका डिलर देखि पसलसम्म नै फरकफरक मूल्य भएको सत्य हो र मैले एकसाताको बिल देखाएभने तपाई आफै नै अचम्मित बन्नुहुन्छ, ति ब्यवसायीले प्रभावकारी न्यूजलाई भने ।

अनिवार्य सबै उपभोक्ताले देखिने गरी स्पष्टसंग पसलहरुमा मूल्य सूचि टाँस हुनु पर्ने हो । यो नहुँदा माथि नै भाँउ बढेको भन्दै उपभोक्तासंग बढि पैसा असुल गर्ने गरेको बताइन्छ । दमकमा ब्यवसायीहरुले मूल्य सूचि टाँस गर्न धेरै नै अटेर गर्ने र अनुगमन हुँदा टाँस गरेजस्तो गर्ने गरेको पनि पाईन्छ । नियमित रुपमा टाँस गर्नु पर्ने दायित्व हो भन्ने महसुस गरेको पाईन्न ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने यस्तो नरहेको बताए । यो हावा कुरा हो जस्तो लाग्छ, उनले भने । यदि कसैले आफुखुसि मूल्य बृद्धि गर्छ भने गोली ठोके हुन्छ, उनको भनाई छ । अनुगमन गरेर कार्वाही गर्नु पर्यो हामी सरकारलाई साथ दिन्छौ, उनले भने । खरिदकर्तालाई बढेको मूल्यमा नै सामान किनेर उपभोक्तालाई सस्तोमा भने दिन नसक्ने भएकाले यसलाई गम्भिर रुपमा अनुगमन गर्नु पर्नेमा उनको जोड छ ।

बारम्बार बजार तथा पसल अनुगमन हुँदा र यो बिषयमा दमक नगर बजार अनुगमन समितिले मूल्य सूची टाँस गर्न निर्देशन दिएको पाईएपनि यसको कार्यान्वयन भएको देखिदैन । दमकका अधिकाँश पसलहरुमा हेर्ने हो भने अहिलेपनि मूल्य सूचि छैन । उपभोक्ता संरक्षण ऐन २०७५ मा स्पष्टसंग विक्रेताले पालना गर्नु पर्ने दायित्व उल्लेख रहेको छ ।-