२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ दिन अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेँखे

दमक/ सोमबार देखि झापामा आंशिक निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निषेधाज्ञा जारी गर्दै यसको पालना गर्न सबैसंग आग्रह गरेकाछन् । जिल्लामा कोरोना संक्रमण उच्च भएसंगै निषेधाज्ञा आदेश जारी भएको हो । आदेशमा उल्लेख भए अनुसार नागरिकले पुर्ण निषेधाज्ञा पालना गर्न मुश्किल छ । तर यो गर्न जरुरी छ र गर्नु पर्छ । बिगतका लकडाउन तथा निषेधाज्ञामा आदेश खासै पालना भएको देखिएको थिएन ।

 

आंशिक निषेधाज्ञा अर्थात विहानको समयमा बजार खोल्न दिईने उल्लेख छ । यसो गर्दा दिनभर आउने ग्राहक तथा उपभोक्ता पसलमा त्यो समयमा अवधिमा आउनु पर्ने अवस्था रहन्छ र आउछन् । यसले गर्दा झन् भिड बढ्ने हुन्छ । अर्कोतर्फ ब्यवसायीलाई र उपभोक्तालाई पनि छिटोछिटो आफ्नो काम सक्न पाए हुन्थ्यो भन्ने लाग्छ । यसले आधारभूत स्वास्थ्य मापदण्ड पालना गौण रहन्छ । यसबाट झन् जोखिम बढ्ने देखिन्छ । अझ डेरी तथा अत्यआवश्यकीय खाद्यन्न पसलहरु बन्द रहने तर होटल/रेष्टुरेन्ट बन्द नहुने किसिमको निषेधाज्ञा छ । करिब १२ घण्टा खुल्ने पसल तथा ब्यवसाय ५ घण्टा खुल्दा चाप बढ्ने भएकाले संक्रमणको भय बढ्ने त होइन ? यसले झन् खतरा निम्त्याउने त होइन ? सोच्न आवश्यक छ ।

 

यसको अर्थ यो होइनकी निषेधाज्ञाको औचित्य छैन । पक्कै पनि सर्वसाधरण र ब्यवसायीको हितमा नै यो आंशिक निषेधाज्ञाको परिकल्पना गरिएको हो । उपभोक्ताले पनि यो समयमा आफुलाई चाहिने सामान किन्न सकुन र ब्यापारीले पनि बेच्न सकुन । तर आधारभूत स्वास्थ्य मापदण्ड न ब्यापारीले पालना गरेको देखिन्छ न त उपभोक्ताले । यसले गर्दा यस बिषयमा गम्भिर भएर सोच्न आवश्यक छ । अत्यआवश्यक भएमात्र पसल खोल्ने र उपभोक्ता पनि पसलमा जाने हो भने यसको औचित्य सावित हुन्छ ।

 

यस्तो आंशिक निषेधाज्ञा भन्दा पुर्ण लकडाउन वा निषेधाज्ञा नै उपयुक्त हुने अधिकाँशको राय पनि देखिन्छ । बजारमा गएर र बुद्धिजीवि तथा सरोकारवालाहरुसंग कुरा गर्दा केहि समय पुर्ण लकडाउन वा निषेधाज्ञा गर्दा कोरोना संक्रमणलाई केहि कम गर्न सकिने धारणा भएको पाईन्छ । यसले अति निम्न बर्गिय जनमानसलाई गम्भिर असर गर्ने र ब्यवसायी पनि मारमा पर्ने बिषय पनि आउछ । स्वास्थ्य मापदण्ड पालना गर्ने र आवश्यकता अनुसारमात्र वाहिर निस्कने हो भने आंशिक निषेधाज्ञा सार्थक पनि बन्न सक्छ । तर यो परिपाटी देखिदैन र देखिएको छैन ।

 

माक्सको अनिवार्य प्रयोग, सेनिटाइजर तथा साबुनपानीले हात धुने ब्यवस्था अनिवार्य पसलहरुमा गर्न भनिएको छ । तर अधिकाँश पसलहरुमा यो देख्न पाइन्न। पछिल्लो समयमा माक्सको प्रयोग गर्ने क्रम भने बढेको छ । यो एक किसिमले सकारत्मक हो । किनभने यसभन्दा अघि माक्स लगाउनेको संख्या निक्कै न्यून थियो । अहिले माक्स नलगाउनको संख्या न्यून छ । कोरोना संक्रमण फैलिन नदिन र यसबाट सुरक्षित हुन माक्सको प्रयोगमा विज्ञहरुले जोड दिदै आएकाछन् ।

 

मानव स्वास्थ्य नै सबैभन्दा ठुलो बिषय भएकाले कोरोना संक्रमण रोक्नका लागि प्रशासनको आदेशलाई पालना गर्न आवश्यक छ । लुकिलुकि पसल खोल्ने, प्रशासनको आदेशको अवज्ञा गर्ने, तोकिएको स्वास्थ्य मापदण्ड एवं प्रोटोकल ख्याल नगर्ने हो भने संक्रमण दर उच्च भएर ठुलो बिपती आउन सक्छ । कोरोना संक्रमण रोकथामका लागि सामुहिक पहल आवश्यक छ । यसका लागि हरेकले स्वास्थ्य सावधानी अपनाउने र अहिलेको गम्भिरतालाई बुझेर निषेधाज्ञा पालना गर्ने हो भने हामी अहिलेको महामारीबाट बच्न सक्छौ । अन्यथा हामी आफै पनि संक्रमित बन्न सक्छौ र जोखिममा वहन गर्नु पर्ने अवस्था आएको छ ।

डा. भगवान कोइरालाले समस्यालाई ब्याक्तिगत रुपमा नलिन दिएको सुझाव निक्कै सान्दर्भिक लागेको छ । उनले आफ्नो एक अन्तरवार्तामा भनेकाछन्-

हामी नागरिकले स्वास्थ्यका सर्वमान्य मापदन्डहरु पालना गरेनौं । मेरै जिन्दगी त हो भनेर रोगलाई व्यक्तिगत भन्ठान्यौं । तर, महामारीका बेलामा यस्ता रोगहरु व्यक्तिगत नरहने रहेछन्। यी त सामाजिक समस्या हुन्। मैले मास्क लगाउँदा मलाई होइन, अरुलाई क्षति हुन्छ। अरुले नलगाउँदा मलाई क्षति हुन्छ। अन्तरआश्रित रोग हो यो। यो महशुस गर्न समुदाय चुक्यो। अझैपनि हामी होसमा आयौं, संयमित भयौं, अनुशासित भइयो र एक डेढमहिना सहन सकियो भने क्षति कम हुन सक्छ।

कोरोनाको यो दोस्रो लहर खतरनाक छ, यो सत्य हो। तपाईं हाम्रै परिवारको कसैलाई आक्रान्त पार्न सक्छ, कसैको ज्यान जान सक्छ। कोरोना आफैंले नखोजीकन उडेर घरभित्र आएर आक्रान्त पार्दैन। त्यसैले सचेत हुनपर्छ,। पछि पछुताउनुको कुनै अर्थ छैन। आज सजिलै बच्न सकिने रोगबाट तपाईं हाम्रै परिवारको कोही मर्न भनेको हाम्रै भुल मात्र नभनौं।