२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि
विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहि लेखेँ

दमक/ सरकारले अक्सिजन प्लान्ट, भेन्टिलेटर लगायतका अत्य आवश्यकीय उपकरण किन्नका लागि देशभरका बिभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराउन थालेकाछ । कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले बजेटको ब्यवस्था गर्दै आएको हो । पुर्वका अधिकाँश अस्पतालहरुमा बजेट आएको सार्वजनिक भएको छ । ब्यवस्थापकीय कमजोरी र उपचारमा लापरवाही हुँदै आएका समचार आइरहने मेची अञ्चल अस्पतालले समेत ९ करोड बजेट पाएको छ । दमकको सरकारी कोभिड उपचार केन्द्र वा दमक अस्पताललाई बजेट आएको छैन ।

सामुदायिक अस्पतालको रुपमा दमक नगरपालिकाले स्वीकार गरेको आम्दा अस्पताललाई पनि बजेट छैन । आम्दा अस्पताल वा सरकारी दमक अस्पतालमा अक्सिजन प्लान्टका लागि सरकारले आवश्यक बजेट छुट्याउनु पर्दछ । यसका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायहरुको ध्यान जान आवश्यक छ । यसै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृह नगर हो ।

मेचीनगरमा समुदायस्तरबाट रोटरी क्लवको अगुवाई आम्दा मेची अस्पतालमा अक्सिजन प्लान्ट राखिन लागेको छ । प्रतिघण्टा ४० सिलिण्डर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट ६० लाखको हाराहारीमा ल्याउने सार्वजनिक भएको छ । यसमा नगरपालिका र स्थानीय बाणिज्य संघले सहयोग दिने जनाईसकेकाछन् । यो राम्रो पक्ष हो ।

बिर्तामोडमा एक ब्याक्ति एक अक्सिजन सिलिण्डर अभियान अन्र्तगत झण्डै ८० लाख रुपिया उठेको छ । तर दमकमा खोई यस्ता प्रभावकारी अभियान ? कि सामाजिक संघसंस्था र अगुवाहरुले दमकमा यस्तो अभियान चलाउन मिल्दैन ?

दमकमा पिसिआर परिक्षण गर्न सकिने ल्यावका प्रयास दमक उद्योग बाणिज्य संघले अघि सार्यो तर त्यो समयमा स्थानीय सरकारले यसलाई महत्व नदिदा त्यो बिषयले सार्थकता नपाएको भने हो । अहिले त्यो भएको भए दिनहु परिक्षण र छिटो नतिजा आउन सक्थ्यो ।  अब फेरी यो अभियान चलाउने हो की ? अक्सिजन प्लान्ट र पिसिआर परिक्षण यहि गर्ने अवस्था सिर्जना गर्नका लागि सबैको सामुहिक प्रयासबाट सम्भव होला । यसतर्फ सबै एकीकृत भएर लागेमा पक्कै पनि गर्न नसकिने भन्ने हुँदैन होला ।

अक्सिजनको ब्यवस्थापनले मात्र नपुग्ला । यहाँका नीजि तथा सरकारी अस्पतालहरुमा आवश्यक उपकरण जोड्ने र उपचार क्षमता बढाउने कार्यमा लाग्नु पर्दछ । भेन्टिलेटर र आईसियु बेडसंख्या दमकमा अहिलेभन्दा बढि महामारी फैलिएको अवस्थामा पर्याप्त होला त ? यस बिषयमा गम्भिर समिक्षा जरुरी रहेको छ ।

आपतकालको अवस्थामा सरकारी र वा नीजि भनेर विभेद नगरी यहाँका नागरिकको ज्यान कसरी बचाउने भनेर स्थानीय सरकार देखि लिएर संघीय सरकारसम्मले सहयोग गर्नु पर्दछ । सामाजिक संघसंस्थाहरुले पनि यसमा ध्यान पुर्याउनु पर्दछ ।

अझ नीजि अस्पतालमा भर्ना भएका विरामीहरुलाई ठुलो समस्या र दबाब हुनसक्छ । यसर्थ नीजि अस्पतालहरुसंग सहकार्यमा विरामीलाई सहज र सरल उपचार दिलाउन नागरिक समाज र स्थानीय सरकारले खेल्ने भूमिका खेल्ने हो भने धेरैलाई राहत हुन्छ ।