झापामा अझै एकसाता थपियो निषेधाज्ञा, पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना !
दमक/ झापामा थप एकसाता निषेधाज्ञा जारी भएकोछ । यो पटक निषेधाज्ञा अटेर गर्नेलाई सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार कारवाही समेत हुने गरी निषेधाज्ञा थप भएको हो । आज अपरान्ह प्रमुख जिल्ला अधिकारी सहितको बैठक बसेको थियो ।
कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश अनुसार निषेधाज्ञा पालना गर्नु पर्नेछ । पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने भएको छ । अध्यादेशअनुसार जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ वा दुवै सजाय हुन सक्ने समेत बताईन्छ ।
यस्तै कुनै व्यक्तिले आदेश उल्लङ्घन गरेको पाइए एक लाख रुपैयाँसम्म जरिबाना हुने र कुनै संस्थाले आदेश उल्लङ्घन गरेको पाइए पाँच लाख रुपैयाँसम्म जरिबाना हुने छ । यो जरिबाना तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।
यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ, अत्यावश्यकबाहेकका सवारी साधन चलाएमा दुई पाङ्ग्रे सवारी साधन भए पटकैपिच्छे दुई हजार रुपैयाँ, अरू गाडी भए पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिबाना गराइने छ ।
यस्तै अध्यादेशको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्म बन्द गर्न आदेश दिन सक्ने पनि अध्यादेशमा उल्लेख छ ।
