२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा दमक अस्पतालले सञ्चालन गरेको कोभिड उपचार केन्द्रदेखि लिएर नीजि अस्पतालहरुले सञ्चालन गरेको कोभिड युनिटहरुको बेड भरिन लागेको छ । यसले अब दमकमा गम्भिर संक्रमितहरु थपिएको अवस्थामा बेड नपाईने अवस्था सिर्जना हुने देखिएको छ ।

कोभिड उपचार केन्द्र, आम्दा अस्पताल, लाईफलाइन अस्पताल र एडभान्स अस्पतालमा ११९ कोभिड बेड रहेकोमा १०२ वटा बेडहरुमा विरामी रहेको र अब बाँकी १७ वटा बेडमात्र खालि रहेको कोभिड उपचार केन्द्रले सार्वजनिक गरेको विवरणमा उल्लेख रहेको छ ।

यसभन्दा अघि १ सय भन्दा बढि कोरोना संक्रमितहरु दमकको अस्पतालहरुमा भर्ना भएका थिएनन् । आज १ सय नाँघेको हो । दमकका अस्पतालहरुमा आईसियु बेड खालि नभएका कारण एक बृद्धले २ दिन अघि ज्यान गुमाएका थिए । उनका परिवारले आईसियु बेडका लागि सबैतिर सोधखोज गरेको थियो ।

अस्पतालमा रहेकाहरुमध्ये ९ जना भेन्टिलेटरमा रहेकाछन् । गम्भिर विरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको छ । अस्पतालमा भर्ना भएका मध्ये झापाका ७१ र जिल्ला बाहिरका ३१ जना रहेको पनि विवरण सार्वजनिक भएको छ ।

दमकमा आईसियु बेड नपाउने समस्या र अस्पतालहरुमा बेड भरिन थालेपनि अहिलेसम्म अक्सिजनको अभाव भने नरहेको बताईएको छ । अस्पतालहरुले अक्सिजनको अभाव हुन नदिएको र अक्सिजनको समस्या नरहेको बताईन्छ । अक्सिजनको अभाव नभएका कारण र सस्तोमा यहाँ उपचार हुने भएपछि बाहिरी बिभिन्न जिल्लाहरुबाट समेत उपचारमा आउने गरेकाछन् ।