२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  दमक नगरपालिकाले दमकका २ वटा शब्जि बजारहरु नखोल्ने निर्णय गरेको छ । दमक नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणनगर स्तरीय समन्वयसमितिको बैठकले यस्तो निर्णय गरेको दमक नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीले बताईन् ।

दमक ६ स्थीत नयाँ सब्जी बजार र दमक ८ स्थीत सेतुमारी जाने बाटो छेउमा रहेको सब्जी बजार बाहेकका खाद्यान्न, फलफुल, तरकारी, मासु तथा दुध डेरी पसल हप्ताको २ (दुई )दिन आईतवार र बुधवार विहान ६ बजे देखि ९ बजे सम्म खुल्नेछन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा खाद्यन्न तथा तरकारी र फलफुल पसलहरु यि दूईदिन विहान खोल्न दिने निर्णय आएको थियो ।

फलफुल तथा तरकारी खुला गर्ने भनिदा शब्जि बजार पनि खुल्ने र यहाँ भिडभाड हुँदा जोखिम बढ्ने भन्दै कुरा उठेपछि नगरपालिकाले यस्तो निर्णय लिएको बताईन्छ । तरकारी, फलफुल तथा खाद्यान्न खरीद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै भिडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।

दमकमा कोरोना संक्रमणको जोखिम नघटेको र अवस्था जटिल नै रहेको भन्दै निषेधाज्ञालाई अझ कडा गर्नु पर्ने समेत राय कतिपयबाट आएको बताईएको छ । दमकमा निषेधाज्ञाको खास पालना नभएको र साँझ परेपछि बजार खुला रहने गरेको सामाजिक सञ्जालमा आइरहेकाछन् ।

नगर क्षेत्र भित्र पसल बन्द भएको कारणले खाद्यान्न खरीद गर्न नपाएको कारण समस्या परेमा सम्बन्धित वडा कार्यालय र दमक उद्योग वाणिज्य संघले समन्वय गरी होम डेलिभरीको व्यवस्था मिलाइदिने तर पसल खुल्ला गरी विक्री गर्न नपाउने, पनि निर्णय भएको छ ।

निर्णयहरुको कार्यान्वयन नभएको पाइएमा प्रचलित नियम कानून अनुसार दण्ड, सजाय र जरिवाना हुनेछ भनिएपनि दमक नगरपालिकामा अहिलेसम्म जरिवाना नभएको र निषेधाज्ञा पालना गर्ने क्रम घटेको पनि बताईन्छ । दमकमा केहिदिन निषेधाज्ञा पुर्ण पालना भएपनि त्यसपछि कार्यन्वयनमा चुनौती देखिएको छ ।