माया मारेर दमक कोभिड उपचार केन्द्रमा पुर्याईएका ७० बर्षिय बृद्ध १४ दिनपछि ठमठम घर फर्के
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकस्थित कोभिड उपचार केन्द्रमा एक ७० बर्षिय बृद्धले कोरोना परास्त गरेकाछन् । दमक नगरपालिका वडा नं. १० निवासी ७० बर्षिय एक बृद्धको विराटनगरमा कोरोना संक्रमण भएको पत्ता लागेको थियो ।
२ दिन अस्पतालमा भर्ना भएर बसेपनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । त्यहाँ १ लाख ५० हजार भन्दा बढी खर्च पनि भयो । त्यहाँ अस्पतालले अब उपचार सम्भव नभएको बताएपछि परिवारलाई लाग्यो जे भएपनि गाँउठाँउमा नै उपचार गराउनु पर्यो ।
दमकको कोभिड उपचार केन्द्रमा ६० प्रतिशत अक्सिजनको मात्रा रहेको अवस्थामा आईपुगेका बृद्धले १४ दिनमा कोरोना जितेर घर फर्केकाहुन् । कोभिड उपचार केन्द्र दमककी फोकल पर्सन देबी दंगालका अनुसार त्यो अवस्था हेर्दा बृद्धलाई बचाउन चुनौती रहेको थियो ।
अस्पताल आँउदा खान, बस्न र उठन नसक्ने अवस्था थियो । परिवारले त माया नै मारिसकेको अवस्था रहेछ, दंगालले भनिन् । श्वास रहुन्जेल आस हुन्छ भने झै हामी सबैको मिहिनेतले आज बुबा ठिक हुँदा औधि खुसि भएको भएको छु, दंगालले भनिन् ।
विरामीको साहस र कुरुवाको विश्वासले यो सफलता मिलेको पनि उनले भनेकीछन् । यहाँका स्वास्थ्यकर्मीहरुले बृद्धलाई १४ दिनपछि खादा लगाएर बिदाई गरेकाछन् । स्वास्थ्यकर्मीहरुले सो समयमा खुशिका आँशु नै झारेका थिए ।
