दमकमा निषेधाज्ञा पालना गराउन सकस, ब्यापारी र प्रहरीको गजवको लुकामारी !
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणको चेन ब्रेकका लागि निषेधाज्ञालाई कडा बनाउने सरोकारवाला निकायहरुले बारम्बार बताएपनि दमकमा भने निषेधाज्ञाको पालनाको अवस्था कमजोर रहने गरेको छ । यहाँ जिल्लाका अन्य पालिकाहरुको तुलनामा संक्रमणदर उच्च रहेको छ र घटन सकेको छैन । यहाँ सवारी साधन सञ्चालनमा देखि लिएर ब्यापार ब्यवसाय गर्नेहरुसम्मले निषेधाज्ञाको पालना गरेका छैनन् । नजिकै रहेका गौरादह, केर्खा लगायतका क्षेत्रका बजार तथा पसल पुर्ण रुपमा बन्दछन् दमक भने खुला छ ।
यसको कारण स्वास्थ्य सावधानी नअपनाउनु र हेल्चेक्राई नै भएको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्नु र नाम मात्रको निषेधाज्ञाका कारण कोरोना संक्रमणदरमा अपेक्षाकृत मात्रामा कमी आउन सकेको छैन, एक स्वास्थ्यकर्मी भन्छन् । पुर्ण रुपमा निषेधाज्ञा भनेर यसलाई पालना गराउन नलाग्दा विना होशियारी लुकिछिपी किनबेच हुँदा यसबाट झनै कोरोना संक्रमणदर बढ्न सक्ने अवस्था रहन्छ । किन्ने र बेच्ने दुबैले हतारमा स्वास्थ्य सावधानी अपनाउदैनन् ।
दमक नगरपालिकाको स्वामित्वमा रहेको नयाँ शब्जि बजारका पसल कवल, बसपार्कभित्र रहेका पसल कवलले नै निषेधाज्ञा अवज्ञा गरिरहेकाछन् । यो नगर प्रहरी होस या जनपथ प्रहरी देखरे पनि नदेख्या झै गरिरहेको हुन्छ । त्यहाँ विहान र बेलुका अधिकाँश पसलहरु खुल्ने गरेकाछन् । प्रहरी र नगर पालिकाको गाडि देख्दा सटर तान्ने त्यसपछि खोलिहाल्ने गरेको पाइन्छ । नगरपालिका भने बारम्बार निषेधाज्ञा अवज्ञा गरे कार्वाही हुने बताउदै आएको छ ।
निषेधाज्ञामा बाहिरबाट सामान नआएको भन्दै थोक विक्रेतादेखि लिएर खुद्रा पसलसम्मले १० देखि २५ प्रतिशतसम्म हरेक दैनिक उपभोग्य सामाग्रिमा मूल्य बढाएर विक्री गरिरहेको पनि बताईन्छ । ५ देखि १० रुपिया नबढेको चिज त केहि पो रहनेछ, दमकको शब्जि बजार नजिक एक पसलमा दैनिक उपभोग्य सामाग्रि किन्न आएका एक ग्राहकले भने । दमकमा दैनिक उपभोग्यमात्र होईन सबै प्रकारका पसलहरु आंशिक रुपमा खुलेकाछन् ।
प्रहरीको गाडि साइरन बजाउदै हिडेपछि ब्यापारीले बन्द गर्ने संकेत पाउछन् र सटर लगाउछन् । कतिपय ब्यापारीले आफु भित्रै रहेर सटर तान्छन् त कतिपय बाहिरबाट सटर तानेर उभिन्छन् । नगरपालिको सूचनामा भने अत्यआवश्यक वाहेक घर बाहिर ननिस्कन भनिएको छ । अप्ठेरो अवस्था भएमा र खाद्यन्न सकिएमा नगरपालिका, वडा कार्यालय वा प्रहरीलाई खबर गर्न अनुरोध पनि गरिएको छ ।
