प्रधानमन्त्रीको क्षेत्रमा मात्र बजेट तथा कार्यक्रम धेरै आयो भन्नु गलत छ-ईन्द्र भण्डारी
ईन्द्र भण्डारी, दमकका लागि नौलो नाम होइन । दमकका बासिन्दा भण्डारी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव हुन् । नेकपा एमाले १ नम्बर प्रदेश सम्पर्क कमिटी अध्यक्ष पनि रहेका भण्डारीले दमकको विकासमा निक्कै चासो दिने गरेकाछन् । दमकका साथै प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाहरुमा उनको चासो रहेको छ । अति आवश्यक योजनाहरु ल्याउनका लागि उनि प्रयत्नशिल रहने गरेकाछन् । यहि सन्दर्भमा प्रधानमन्त्रीको जिल्ला तथा गृह नगर र क्षेत्रमामात्र बजेट धेरै आएको भन्ने बिषयमा केन्द्रित रहेर प्रभावकारी न्यूजका लागि भण्डारीसंग गरिएको कुराकानीको केहि अंश-
सरकारले ल्याएको बजेट दमक तथा प्रधानमन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित रहेको भनेर आलोचना भई रहेको छ नि, वास्तविकता के हो ?
सरकारले ल्याएको बजेटमा दमक एवं प्रधानमन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित भन्ने कुरा सरासर गलत हो । देशका सबै निर्वाचन क्षेत्र एवं जिल्लामा बजेट विनियोजन भएको छ । त्यस मध्ये केही ठाउँमा त्यहाँको आवश्यकतालाई हेरेर थप काम अगाडी बढाइएको छ एवं निकै अगाडी देखी काम अघि बढीरहेकोमा अहिले कार्यान्वयनको चरणमा गएको छन् र ती कामहरु तिब्र ढङ्गले अगाडी बढेका छन् । यहि पटक सबै बजेट आएको भने जसरी प्रचार हुनु गलत हो । अघिल्ला बर्षहरुमा आएका कार्यक्रममा बजेट नआउने हो भने फेरी यसमा पनि किन बजेट आएन ? भनेर आलोचना नै हुन्थ्यो ।
अन्तराष्ट्रिय मदन भण्डारी रंगशाला लखनपुरमा नभई दमकमा बनाएको भनेर यसको पनि विरोध भईरहेको छ,लखनपुरमा किन बन्न सकेन?
मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला लखनपुरबाट दमकमा आउनमा त्यहीका जनताको विकास प्रतिको धारणामा एकरुपता नहुनु हो । कसको पालामा काम अगाडी बढ्न दिने र काम रोक्न योजनाबद्ध ढङ्गले लाग्ने काम भयो । नामको बिषय बनाएर भिन्नभिन्न समुह तथा राजनीतिक दलहरु नै लागेर यसको चर्को विरोध जनाउने काम निरन्तर भइरह्यो । यहि कारण यहाँ काम अघि बढ्न सकेन । सकेसम्म त्यहि रंगशाला बनाउन धेरै प्रयत्न र छलफलहरु भएका थिए तर सार्थक भएन । सरकारले निर्माणका काम रोक्न नसक्ने भएकोले वैकल्पीक ठाँउको खोजि शुरु भयो । दमकमा उपयुक्त स्थान सहितको विकल्प आएपछि रंगशाला निर्माणको काम अगाडी बढेको हो । अब यहाँ अन्तराष्ट्रिय स्तरको रंगशाला बन्छ । खेलकुदको विकासको क्षेत्रमा ठाँउ दमक भएपनि यो सबै खेलप्रेमी तथा आम जनताका लागि खुशिको अवसर हो ।
के साच्चैठूलाठूला योजना,औद्योगीक पार्क, बहुतले बस पार्क सहितको सिटी पार्क,चिल्ड्रेन प्यराडाइज लगायतका योजना बजेटमा मुख्य रुपमानै परेको देखीयो नी ! पहुचको भरमा आएकोहो यो बजेट ?
केही ठूला योजना सरकारको नीति र त्यहाँको आवश्यकता अनुसार अगाडी बढाइएको छ । जस्तै औद्योगीक पार्क ७ वटै प्रदेशमा अगाडी बढाइरहेको छन् र १ नं. प्रदेशको दमक भन्दा पनि मूख्यरुपमा कमल गाँउपालिकामा अगाडी बढिरहेको छ । त्यहाँ धेरै जमिन सरकारले उपलब्ध गराउने अवस्था भएकोले केही वर्ष अघिदेखीनै त्यहाँ यो प्रक्रिया अघि बढीरहेको हो । समयमा काम भएन । यहाँ झुक्याईयो भनेर बारम्बार भन्ने र मिडियाबाजि गर्नेहरु नै सरकारले काम गर्ने भनेपछि फेरी यहिमात्र काम भयो भनेर भनिरहेकाछन् ।
अर्को बिषय बहुतले बसपार्कको कुरा, यो दमकको आवश्यकता हो । दमकको घना वस्ति र बसपार्कको लागि हाइवेमा पर्याप्त जमिन उपलब्ध हुने सम्भावना नभएपछि भएको जमिनलाई अधिकतम सदुपयोग गर्नु पर्ने भएकोले दमकको पशुहाट नजिक साढे तीन विगाहा जमिनमा यो काम अगाडी बढीरहेको छ ।
चिल्ड्रेन प्याराडाइज बालबालिकाको क्षमता अभिवृद्धी गर्ने गरी शैक्षिक हव बनाउने उदेश्य सहित आएको हो । यहाँ आधुनिक र प्रविधि मैत्री चिल्ड्रेन पार्क बन्नेछ । यस प्रकारको प्याइराडाईज त्यो भेगमै नभएकाले कमल गाँउपालिकाको वडा नं. ५ मा बनाउने सोच अनुसार बजेट आएको छ । जहाँ मदन भण्डारी रंङ्गशाला बन्न सकेको थिएन त्यहाँ यो बनाउन खोजिएको हो । यसका लागि यहाँ पर्याप्त जमिन भएकोले यसलाई अगाडी बढाइएको छ । त्यहाँका आम जनसमुदायले यसका लागि अग्रसरता देखाउनु हुनेछ भन्ने विश्वास पनि लिएको छौ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा दमकमा नयाँ बजेटमा के समावेस रहेको छ ? कि ठूला निर्माणमा मात्र ध्यान गएको हो ?
शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत ध्यान गएको छ । दमक अस्पताल निर्माणाधिन अस्पताल भवनलाई चाडै निर्माण सक्ने गरि आवश्यक बजेट व्यवस्था गरिएको छ भने आम्दा अस्पतालको पनि पूर्वाधार विकासमा सहयोग हुने् गरी केही रकम विनियोजन भएको छ । कोभिड १९को महामारीबाट त्यो भेगका जनतालाई जोगाउन आम्दा र दमक अस्पतालले कोरोनाका विरामी उपचार केन्द्र तयार गरी उपचार गरीरहेको छन् । दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम पनि शुरु भइसकेको छ । त्यस्तै शिक्षाको क्षेत्रमा विद्यार्थीको चाप रहेका विद्यालय ढुकुरपानी मा.वि.,हिमावी लगायत स्कूल एवं दमक क्याम्पसमा रकम विनियोजन भई भवन शिलान्यासको काम भर्खरै सम्पन्न भएको छ । अन्य विद्यालय तथा शैक्षिक संस्थाहरुको पनि भौतिक विकासमा कमी हुन नदिने गरी काम गरिने छ ।
अन्त्यमा…
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार यस क्षेत्रको विकासका लागि प्रयास भइरहेकाछन् । प्रधानमन्त्री ज्यूले भर्चुअल माध्यमबाट नै कतिपय विकास योजनाहरुको शिलन्यास गर्नु भएको छ । यसभन्दा अघि प्रत्यक्ष रुपमा आएर शिलन्यास गरिएका योजनाहरुले पनि अब गति लिन्छ । विगतमा अलपत्र परेका र स्थानीयले धेरै माग गरेका योजनाहरु पनि बजेटमा परेकाछन् । दमक तथा प्रधानमन्त्री ओलीको क्षेत्रमा मात्र होइन आवश्यकता अनुसार देशभर नै ठुला योजनाहरु रहेकाछन् । देशमा विकासको नयाँ लहर ल्याउने र निर्माणको महाअभियान पुरा गर्ने प्रधानमन्त्रीको दृढ संकल्पन पुरा हुने चरणमा प्रवेस गरेको छ । यसलाई सफल बनाउन हामी सबै लाग्नु पर्छ र लागेका छौ। प्रस्तुती-विष्णुप्रसाद पोखरेल