दमकमा कोरोना संक्रमणको ‘हाइरिक्स’ ! परिक्षण गरिएका ४२ प्रतिशतभन्दा बढिमा कोरोना संक्रमण पुष्टि
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा कोरोना संक्रमणदरमा कमी आउन सकेको छैन । नगरपालिकाले १४० जनाको कोरोना संक्रमण भए नभएको जाँच गरेकोमा ६० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो ४२ प्रतिशतभन्दा बढि हो ।
जिल्लाका अन्य पालिकाहरुमा कोरोना संक्रमणदर घट्दो अवस्थामा रहेपनि दमकमा पनि पछिल्लो अवस्थाले कोरोना संक्रमणदर बढ्दै गएको देखिएको छ । आज झापामा जिल्लाभरका पालिकाहरुमध्ये सबैभन्दा बढि दमकमा नै संक्रमित देखिएको छ ।
दमकमा निषेधाज्ञाको पालना अत्यन्त कमजोर रहेको छ । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचना तथा अनुरोधको अवज्ञा हुँदा पनि यसमा स्थानीय सरकार तथा प्रशासनको ध्यान गएको पाईएको छैन ।
पसल तथा ब्यापार ब्यवसाय खुला भएकाछन् । सटर अगाडि ब्यापारीहरु बसेर प्रहरी आँउदा लगाउने र जानसाथ खोल्ने गरेको देखिन्छ । सवारी साधन सञ्चालन तथा अन्य सबै प्रकारका गतिविधिहरु दमकमा खुलमखुल्ला चलिरहेको छ ।
सक्रमणदर घटाउन र कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि लगाईएको निषेधाज्ञा पालना नहुँदा र आधारभुत न्यूनतम स्वास्थ्य मापदण्डको पालना नगर्दा दमकमा कोरोना संक्रमणदर नघटेको पनि कतिपयको भनाई रहेको छ ।
स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले सूचना निकालेको छ तर कार्यन्वयन छैन, दमकका एक ब्यापारी भने । सबैले खोलेर धमाधम ब्यपार गरेपछि आफुलाई पनि घरमा बस्न मन नलागेर आएर पसल खोल्न थालेको छु, ति ब्यापारी भन्छन् ।
आवश्यकता छैन भने निषेधाज्ञा नलगाएको भए हुन्थ्यो यदि आवश्यकता हो भने त लगाएपछि कार्यन्वयन त गर्नु पर्ने हो तर भएको छैन, दमककै एक जनप्रतिनिधिले भने । कडा गरौ भनेर कुरा राख्यो भने उल्टै झम्टाई खाईने रहेछ र अहिले बोल्न नै छाडियो, उनले थपे ।
