२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ गण्डकी प्रदेशमा सरकार परिवर्तन भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भएकाछन् । पोखरेलले आफूलाई समर्थन गर्नेहरुलाई मन्त्री बनाउने क्रममा दीपक मनाङे पनि परेकाछन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) तेश्रो पटक मन्त्री बनेकाछन् । दुई महिनाभित्र तेस्रो पटक मन्त्री बन्ने भाग्यमानी ठहरिए  । यो विरलैमात्र हुने गर्छ ।

यसैबीच राससका अनुसार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

प्रदेश प्रमुख पौडेलले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा (माओवादी केन्द्र)की मधुमाया अधिकारी, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिनुभयो ।    समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।