२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

अम्बिका भण्डारी
झापा, १ असार । “कोरोनाले मृत्युवरण गरेका व्यक्तिको शबलाई पहिलोपटक छुँदा हात लुगलुग कामे जस्तो लाग्यो । स्यानिटाइजर छर्किदा मुटु ढुकढुक भयो । मन दरो बनाएर सोचेँ–म स्काउटको सदस्य हुँ, मैले अहिले शब व्यवस्थापन गर्न जिम्मेवारी पाएकी छु । मभित्रको आत्मविश्वास छिटै बलियो भएर आयो । अनि फटाफट सामान्य काम सरह शबको सहज व्यवस्थापनमा जुटेँ ।”

यी भनाई हुन्–झापामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शब व्यवस्थापनमा जुटिरहेकी भद्रपुर नगरपालिका वडा नं. ६ की शिवानी देवानको । नेपाल स्काउटकी सहायक प्रशिक्षक उनले नेपाली सेनाबाट शब व्यवस्थापन सम्बन्धी हालै तालिम लिएकी थिइन् । त्यसपश्चात नौ वटा शबको उहाँ आफैले व्यवस्थापन (जलाउने र गाड्ने) गरिसकेको बताइन् ।

झापामा गत वर्षदेखि नै नेपाली सेनाको विशेष टोलीले शब व्यवस्थापनको काम गर्दै आएको थियो । तर कोरोना महामारीको दोस्रो लहर चलिरहँदा सेनाको एउटा टोली एकै दिनमा अलग अलग स्थानमा धेरै शबको व्यवस्थापनमा जुटिरहँदा प्रदेश स्काउटले सहकार्यका लागि प्रस्ताव गर्यो । सेनाले साहसिक कार्यमा जहिल्यै अग्रसर हुने नेपाल स्काउटका छानिएको टोलीलाई शब व्यवस्थापन सम्बन्धी विस्तृत तालिम दियो । हाल झापामा १७ जना स्काउटले यो तालिम लिएर काम गरिरहेका छन् ।

शब व्यवस्थापनको एउटा टोलीमा चार जना हुन्छन् । तालिमप्राप्त स्काउटका सदस्यलाई हाल चन्द्रगढीथित नेपाल स्काउटको कार्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय पालिकाहरुले कोरोनाबाट मृत्यु भएको खबर दिएपछि उनीहरु शब व्यवस्थापनका लागि अस्पताल, घर र घाट सबैतिर पुग्ने गर्छन् ।

“मेची अस्पतालमा कोरोनाबाट कसैको मृत्यु भयो भने हामी त्यहीँ पुग्छौं र शबलाई प्लास्टिकले बेरेर शबबाहनमा राखिदिन्छौं,” शिवानीले भनिन्–“घरमा मृत्यु भएको रहेछ भने घरमै पुग्नुपर्छ । शबलाई जलाउने बेलामा घाटमा पुगेर गाडीबाट शब उतार्ने, स्यानिटाइजर छर्किने र चितामा राख्ने काम हामी आफैले गर्छौं ।”

जेठ ९ देखि १२ गतेसम्म नेपाली सेनाले दिएको शब व्यवस्थापन सम्बन्धी तालिममा शबलाई कसरी प्लास्टिकले बेर्ने, स्यानिटाइनर कसरी लगाउने, गाड्दा वा जलाउँदा कसरी व्यवस्थापन गर्ने र यी काम गरिरहँदा सङ्क्रमणबाट कसरी आफु सुरक्षित रहने भन्ने सिकेको उनले जानकारी बताइन् ।

प्रदेश स्काउटले नै शब व्यवस्थापनमा खटिएको स्काउट टोलीको व्यक्तिगत सुरक्षाका लागि आवश्यक पीपीई, फेसमास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराइरहेको छ । शिवानीले विश्व महामारीका बेला देशलाई सङ्कट पर्दा आफुले स्यम्सेवा गर्न पाएकोमा गौरव अनुभूति भइरहेको बताइन् ।

उनलाई परिवारबाट यो काममा प्रोत्साहन रहेको छ । उनकी आमा रुक्मिनी देवान ललितपुर नर्सिङ क्याम्पसकी शिक्षिका छिन् । “स्काउटबाट यो कामको प्रस्ताव आएपछि मैले गर्छु भनिहालेँ । पछि आमाबुवालाई सोध्दा हौसला दिनुभयो । राम्रो काम हो छोरी गर भन्नुभयो,” उनले आफुलाई परिवारको दर्विलो साथ रहेको सुनाउँदै भनिन्–“यसअघि मान्छे मर्दा मलामीसम्म गएकी थिएँ, तर लाशको छेउछाउ जाँदिनथे । अहिले त लाश बोक्ने, चितामा राख्ने जस्ता सबै काम गर्दा कुनै डर लागेको छैन ।”

नेपाली समाजमा पुरुषले मात्र शब व्यवस्थापनको काम गर्दै आएको पाइन्छ । लाश बोक्ने र जलाउने काममा पुरुषहरु नै अग्रसर हुने गर्छन् । मलामीका लागि पानी र खाजा बोक्ने काममा मात्र महिला खटिने गर्छन् । तर अब महिलाहरुले पनि जस्तोसुकै जोखिमका काम गर्न सक्छन् भनेर शिवानी र उहाँका साथीहरुले सावित गरेका छन् ।

१७ जनाको स्काउट टोलीमा शिवानी देवान र पूजा कँडेल मात्र महिला स्वयम्सेवी छन् । शब व्यवस्थापनको जटिल र जोखिमपूर्ण कार्यमा स्वयम्सेवाको भावनाले होमिएको उनले बताइन् ।

नेपाली सेनाको चारआलीस्थित नयाँ श्रीनाथ गणका गणपति अम्बरजङ्ग थापाले स्काउटको टोलीले सेनासँगको सहकार्यमा शब व्यवस्थापन सफलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे ।

“देशमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा देश र जनताका लागि सेवा प्रदान गर्दै आएको नेपाल स्काउटले कोरोना सङ्क्रमणको दौरानमा समेत नेपाली सेनासँग सहकार्य गरेर शब व्यवस्थापनको सम्बेदनशील काम गरिरहेको छ,” गणपति थापाले भनिन्–“स्वतःस्फुर्त रुपमा नेपाल स्काउट दुःखीको साथीको रुपमा आउनु खुशीको विषय हो । विपतमा स्काउटले पुर्याएको सहयोग सराहनीय छ ।”

नेपाली सेनाको नयाँ श्रीनाथ गणले हालसम्म झापामा कोरोनाबाट मृत्यु भएका ३०३ जनामध्ये २१५ जनाको शब व्यवस्थापन गरेको उनले जानकारी दिए । उनका अनुसार ७५ जनाको मृतकका परिवार आफैले गरेका छन् भने १३ जनाको शब व्यवस्थापन स्काउटको टोलीले गरेको छ । (रासस)