२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ यतिखेर झापा दमकका अधिकाँश पीच सडकहरुको बेहाल बनाईएको छ । ब्यवस्थित ढल निर्माणका लागि भन्दै सडकहरु भत्काईएकाछन् । भत्काउनुमात्र होइन लथालिङ्गको अवस्था नै छ । कहिलेसम्ममा अब यो लथालिङ्ग पन हट्ने हो टुंगो छैन । सडकमा दुर्घटनाको जोखिम त छ नै कोहि बाहिरको मानिस आयो भने दमकको अवस्थाबारे कस्तो सन्देश जाला ? यो सोचनिय छ ।

दमक सुन्दर र ब्यवस्थित शहरको रुपमा चर्चा हुनेमध्ये एक पर्छ । यसै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र । अझ भन्नुपर्दा गृह नगर पनि । प्रधानमन्त्री ओलीको बारम्बारको भाषण र निर्देशन सुन्ने, हेर्ने र देख्ने हो भने शुशासन एवं ब्यवस्थित विकास नै हो । तर दमकमा त्यो कार्यन्वयन छ त ? सम्बन्धित निकायहरुले यसको जवाफ नगरबासीलाई दिनुपर्छ । किन काम गराईमा समन्वय छैन र पो यस्तो भएको हो की ?

दमकमा असारे झरी परिरहेको छ तर ढल निर्माण भइरहेको छ । ढल बनाउदा दमकका अधिकाँश सडक भत्काईएकाछन् । नभत्काईएका सडकमा जबरजस्त आधा सडक ढाकेर माटो, बालुवा थुपारिएको छ । यस्तो हर्कतले यात्रुहरुलाई समस्या रहेको छ । विकासको ध्वंस भएको छ । महिनौ दिनसम्म माटो, बालुवा थुपारिएको कालोपत्रे भोली के होला ? यस्तो झरी परिरहेको समय मध्य असारमा भइरहेको काम कति दर्बिलो होला ? यो सोचनिय रहेको छ ।

लामो समय के हेरेर मध्य असारमा काम गरिदैछ ? अनि महिनौ अघि ढल बनाउन खनिएका सडकहरु अहिलेसम्म किन ब्यवस्थित गरिएको छैन ? यस बिषयमा स्थानीय सरकार तथा वडा सरकार समेत संवेदनशिल भएजस्तो लाग्दैन । बेलडाँगी रोड, भृकुटी चोक, गणतन्त्र चौकबाट दक्षिण सेतुमारी मार्ग, फाल्गुनन्द चोक देखि रातोपुल र भित्रि बिभिन्न सडकहरुमा आएर एकपटक हेर्नुहोस त, काम भइसकेको ठाँउमा पनि निर्माण सामाग्रि बेहाल रुपमा छरपस्ट रहेको छ जसका कारण कालोपत्रेको हालतमात्र होइन सडक नै कति बनाईएको छ ।

बीच बाटोमा नाला खन्दा र ब्यवस्थित गर्न माटो झिकेर जथाभावि पीचमा राख्दा पनि किन नगरप्रशासन मौन छ ? यसको पनि त मापदण्ड होला । केहि समय अघि लाखौ खर्चेर बनाईएको पीचको सुरक्षा गर्नु पर्दैन ? ढल बनाउन पीच बिगार्ने र अर्को कुनै निर्माण गर्दा ढल भत्काउने कार्य हुँदा यसले राज्यको सम्पतीको दोहन हुन्छ । हामी  नागरिकको करको दुरुपयोग हुन्छ । यस्ता बिषयमा न राजनीतिक दल चुईक्क बोलेकाछन् न त जनप्रतिधि । यो मौनता पनि वास्तवमा नै शंकाश्पद छ । सडक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न किन पहल गरिएन र गरिएको छैन ?

असार मसान्तमा तामझामका साथ भइरहेको विकास निर्माण र दमकमा केहि महिना अघिदेखि ब्यवस्थित ढल निर्माणका लागि भनेर सडकको बेहाल बनाईएको छ । बर्षौ लगाएर अलिअलि गर्दै बनेका सडकहरु अब कतिञ्जेलसम्म यस्तो रहन्छ ? यसको जवाफ कस्ले दिने ? दमकमा यतिसम्म लापरवाही छ की कुनै पनि विकास निर्माणका योजनाहरुको लागत विवरण सहितको आवश्यक सूचना बोर्ड उपभोक्ताले प्रष्ट देख्ने गरी राखिनु पर्ने प्रावधान छ तर यो कहाँ छ ?