२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा रहेको आम्दा अस्पताल दमक सय बेडमा स्तरउन्नती भएको छ । यसभन्दा अघि ७५ बेडमा सञ्चालित आम्दा अस्पताल यस क्षेत्रमा सामुदायिक प्रकृतीको अस्पतालको रुपमा परिचित रहेको छ । दमक नगरपालिकाले आम्दा अस्पताललाई सामुदायिक अस्पतालको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा पनि उल्लेख गरेको छ ।

आम्दा अस्पतालको विकास तथा भौतिक संरचना निर्माणमा सहयोगका लागि नेपाल सरकारले आँउदो बर्षका लागि ३ करोड बजेट पनि विनियोजन गरेको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चासो रहेको बताईन्छ ।

यो बजेटका लागि प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको विशेष पहल रहेको अस्पताल श्रोतको भनाई छ । आम्दा अस्पतालमा अहिले पनि कोभिडका विरामीहरुको उपचार हुँदै आएको छ ।

आम्दा अस्पताल दमक नगरपालिकाको सहयोगमा सन् १९९२ मा १५ बेडको रेफरल सेन्टरको रुपमा दमकमा खुलेको थियो । केहि समय अघिसम्म विशेष गरेर भुटानी शरणार्थीहरुको उपचारमा तल्लिन थियो । अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख रहने गरेकाछन् ।

बार्षिक ७३ हजारभन्दा बढिले यस अस्पतालबाट ओपिडि सेवा लिदै आएकाछन् । यहाँको आमा सुरक्षा कार्यक्रम धेरै प्रभावकारी मानिन्छ । पुर्वी नेपालको अधिकाँश जिल्लाबाट यहाँ विरामी आउने गरेकाछन् ।