२०८३ असार ११, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ शनिवार झापाको दमकमा कोरोना संक्रमण नियण्त्रणका लागि प्रभावकारी निषेधाज्ञाको बिषयमा निक्कै गहन छलफल भयो । विगतमा जस्तो निषेधाज्ञा लगाउने भने यसले झन् जोखिम बढाउने भएकाले कडा निषेधाज्ञा लगाउनु पर्ने माग उठ्यो । यसमा नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी सहित अधिकाँश राजनीतिक दलका स्थानीय नेताहरुले सहमति जनाए । कडा निषेधाज्ञा जारी गरेर यसलाई पालना गर्ने गराउने भनेर निर्णय पनि भयो ।

सोहि अनुसार जिल्ला प्रशासन कार्यालय झापामा निर्णय सहित जानकारी गराएर सोमबारबाट दमकलाई सिल गर्ने भनियो । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै दमकलाई पुर्ण निषेधाज्ञा लगाएको जानकारी दियो । बजारमा माईक लगाएर फुकियो । नगरपालिकाले निषेधाज्ञा पालना गराउनका लागि शसस्त्र र जनपथ प्रहरीलाई आवश्यक सवारी साधनको ईन्धन उपलब्ध गराउने पनि भयो । सोहि अनुसार सोमबारदेखि दमकमा कडा लकडाउन हुने भनियो ।

कोरोनाको दोश्रो भेरियन्टबाट दमकमा मात्र ३८ जनाले ज्यान गुमाईसकेकाछन् । विडम्बना दमकमा कोरोना संक्रमणदर दैनिक ५० भन्दा कम नभएको अवस्था छ । सक्रिय संक्रमित ६ सय पुग्न लागेको यो अवस्थामा निषेधाज्ञा अत्यन्त फितलो शुरुवात भएको छ । मुखले र कागजमा मात्र दमकका निषेधाज्ञा कडा भएको छ तर ब्यवहारमा भने पसल अगाडि ब्यापारी उभिएर मौका पर्नसाथ पसल खोलेर सामाग्रि दिने, हिडडुल निर्वाध रुपमा भएको, मोटरसाईकल, सिटी सफारी समेत निर्धक्क कुदेको समेत देखियो । यो कस्तो कडा निषेधाज्ञा ? यस्तो निषेधाज्ञाले कोरोना संक्रमणका दर घटाउन सक्ला ? नागरिकले प्रश्न उठाईरहेकाछन् ।

निषेधाज्ञा न त सबै नागरिकले पालना गरेकाछन् न कार्यन्वयन गर्ने निकायहरुले नै यसको कार्यन्वयन गराउन सकेकाछन् । निषेधाज्ञाले केहि ब्यापारी तथा कालोबजारी गर्नेहरुका लागि भने कमाईखाने गतिलो माध्यम बनेको छ । निषेधाज्ञा लाग्न लागेको छ भनेपछि आईतवार दमकको शब्जि बजारमा विहानसम्म ४० रुपियामा पाएको टमाटर बेलुका ६० देखि ७० पुग्यो । ४० रुपिया प्रति केजी विहान रहेको तामा बेलुका १ सय रुपियामा विकेको मैले देखे । ४० देखि ५० प्रतिशत सबैथोक तरकारीमा मूल्य बृद्धि भएको थियो । खुलेआम यो ठगि रोक्न कोहि लागेन । किराना पसलहरुमा पनि लुट नै चल्यो ।

दमक उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल गुरागाईको भनाईलाई आधार मान्ने हो भने नगरपालिकाले जारी गरेको यसभन्दा अघिको लकडाउन र निषेधाज्ञा केहि ब्ययवसायीहरुको स्वर्णयुगजस्तै भयो । जसले घरका तला थप्नेदेखि लिएर घरघडेरी जोड्ने सम्मको अवस्था रह्यो । दमकमा निषेधाज्ञा लगाउने बिषयमा भएको छलफलमा गुरागाईलेमात्र होइन अधिकाँशले यो कुरालाई निक्कै मज्जाले उठाएर कसैलाई चैन र कसैले बेचैन बनाउने किसिमको ताइनतुईको निषेधाज्ञा नलगाउन आग्रह गरेका थिए । तर फेरी पनि ताइनतुईको निषेधाज्ञा हुने संकेत सोमबार स्पष्ट रुपमा देखियो ।

कोरोना संक्रमणको चेनब्रेक गराउन निषेधाज्ञा तथा लकडाउनको विकल्प अहिले अन्य केहि पनि नरहेको भन्ने सबैतिरबाट सुझाव आएको अवस्थामा यसको कार्यन्वयन सवैको दायित्व होइन र ? यस दायित्वबाट पन्छदा यसको जोखिममा हामी सबै पर्छौ । राज्यले पनि आफुले लगाएको निषेधाज्ञा पालना गराउन नसक्नु लज्जाश्पद हो । यदि पालना गराउन सकिदैन भने किन लगाइन्छ निषेधाज्ञा ? यो पनि प्रश्न स्वभाविक रुपमा उठछ ।

यस्तो छ नगरपालिकाले जारी गरेको सूचना

दमक नगरपालिका क्षेत्र भित्र कोरोना भाईरस संक्रमण फैलदो क्रममा रहेको छ । यसै सन्दर्भमा दमक नगरपालिका कोरोना भाईरस रोकथाम तथा नियन्त्रण पालिकास्तर संरचना समितिको मिति २०७८ श्रावण ०९ गते बसेको सर्वपक्षीय बैठकबाट मिति २०७८ श्रावण ११ गते विहान ४ बजे देखि २०७८ श्रावण १७ गते मध्यराती १२ बजे सम्म नगरपालिका क्षेत्र भित्र निषेधाज्ञा लागुगरिएको हुँदा सो समयमाअस्पतालको आकस्मिक सेवा, औषधी पसल, खोप सेवा, फोहोरमैला संकलन तथा व्यवस्थापन, दुध र अण्डाका पसल (विहान ६ देखि ८ बजे) सम्म र एम्बुलेन्स तथा वारुणयन्त्र सेवा जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु संचालन नगर्ने/नगराउने निर्णय भएको हुँदा तपशिल बमोजिमका कार्यहरु गरी कडाइका साथ निषेधाज्ञा पालना गर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।