२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं- साउने सङ्क्रान्तिको मध्यावधि साउन १५ गते मंगलबार दुग्ध पदार्थबाट तयार गरिएको खीर भोजन गरी साउन पन्ध्र मनाइँदै छ । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ ।

असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाए जसरी साउन १५ मा तात्तातो मसलेदार खीर भोजन गरेर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो ।

मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको विज्ञहरु बताउँछन् । खिरमा मिसाइने मसलाले यो याममा निकै फाइदा गर्नुका साथै शरीरको तापमान सन्तुलन राख्न सहयोग गर्ने वैद्यहरुको भनाइ छ ।

कृषिजन्य उत्पादन मानिने दूध र चामल मिश्रित खीर अनि त्यससँग मात्राअनुसार मिसाइने चिनी वा मिश्रीको सम्मिश्रणबाट तयार हुने खीर मुख मिठ्याउने मात्र नभएर शरीर स्वस्थ राख्न उपयुक्त भोजन मानिन्छ ।

असार १५ मा रोपारलाई बेफुर्सद हुने गरेकामा साउन १५ मा भने खेतमा उम्रिएका झारपात उखेलिसकेर फुर्सदको समय हुन्छ भनिन्छ । यही समयमा खीर खाँदा राम्रो हुन्छ भन्ने पुरानो मान्यता छ ।