२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखेँ

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको बिर्तामोडमा नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन होटलमा कोरोनाको खोप सहित पक्राउ परे । अघिल्लो दिनमात्र भद्रपुर नगरपालिकामा वडाध्यक्षले खोप नै चोरेर लगेको भनेर सार्वजनिक भयो । कतै आफन्तलाई सहजै खोप उपलब्ध गराएको र अन्यलाई नदिएको भनेर आलोचना भयो । पछिल्लो समय खोप राजनीति शुरु भएको छ । मानिसले देशमा केहि भइरहेको छ भन्ने खास प्रवाह छैन । खोप पाईयोस भन्ने चाहाना छ ।

सिमित खोप आउने र लगाउने चाहाना धेरै भएपछि यि घटनाहरु भइरहेको बताईन्छ । अहिले कोरोनबाट बच्न र जोगिन भनेकै खोप हो भन्ने धेरैलाई लागेको छ । यसले गर्दा खोप जसरी पनि पाईयोस भन्ने चाहाना आम नागरिकमा रहेको छ । पहुँचवालाले मात्र खोप पाउने र आफुहरुले नपाईने हो की भन्ने चिन्ता आम नागरिकमा रहेको छ । तर सहज रुपमा पालोमा खोप पाइएला भन्ने विश्वास फिटिक्कै कसैमा रहेको पाइदैन ।

पर्याप्त खोपको ब्यवस्था नभएसम्म खोप कार्यक्रममा लफडा हुने देखिन्छ । पर्याप्त खोपको ब्यवस्थापन गरेर मात्र खोपको अभियान चलाउनु पर्ने र त्यो नभए पारदर्शी रुपमा खोपलाई ब्यवस्थान गर्नु पर्नेमा आवाज उठ्न थालेको छ । यो आवश्यक पनि छ । खोप हान्न पाउनु र हान्नु एउटा ठुलो युद्ध नै जितेको मान्नु पर्ने अवस्था छ । यसर्थ पनि खोपमा अहिले लुछाचुडि र बबण्डर भईरहेको छ । असन्तुष्टि छाइरहेको छ ।

खोप पाउनु सबै नागरिकरको नैसर्गिक अधिकार हो । नागरिकको जिवन रक्षा सरकारको दायित्व हो यसले गर्दा विना बिभेद खोप सबैमा पुर्याउन जरुरी छ । फ्रन्ट लाइनमा काम गर्ने र जोखिम समुहको पहिचानलाई पारदर्शी बनाएर खोप दिँदा खास कसैको विरोध नहोला किनकी पर्याप्त खोप अहिले सम्भव छैन । तर यस कार्यलाई ब्यवस्थित नगरिदा अहिले तिब्र असन्तुष्टि देखिएको छ ।

खोप वडाध्यक्षले बलजफ्ती लैजान सक्ने, कर्मचारीले होटलमा लुकाएर राख्न सक्ने अवस्था रहनु कहाँसम्मको पारदर्शी कदम हो ? खोपलाई ब्यवस्थापन गर्न किन सकिएन ? खोपको दुरुपयोग यसरी भइरहदा अब दुरुपयोग गर्नेलाइ कस्तो कार्वाही होला ? यो नागरिकहरुले नियाल्न जरुरी रहेको छ । यसमा सरोकारवाला निकायहरु पनि गम्भिर बन्न आवश्यक छ । बाहुबलिको भरमा खोप पाउने अवस्था अन्त्य गरिनु पर्दछ ।

खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ भनेर बारम्बार सूचना आइरहेको छ । यसले पनि हरेकलाई खोप लगाउन ईच्छा जागृत भएको छ ।

कोरोनाको तेश्रो भेरियन्ट शुरु भएको र थप भयाभह अवस्था आउन सक्नेमा जनस्वास्थ्यविद्हरुले भनिरहेकाछन् । खोप केन्द्रहरुमा स्वास्थ्य सावधानी र सुरक्षाका उपाय अवलम्बन गरेको पनि देखिएको छैन । खोप हान्न जाँदै संक्रमित हुने र फैलने अवस्था पनि नआओस । यसले झनै विकराल अवस्था ल्याउन सक्छ ।