२०८१ बैशाख २२, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा भेरोसेल खोप ६ हजार ४ सय मात्र आएको छ । स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरणमा यो उल्लेख रहेको छ । यसभन्दा अघि ११ हजारभन्दा बढि कोरोना विरुद्धको खोप आएको र अन्य खोप कहाँ गयो भनेर ? धेरैको जिज्ञासा रहदै आएको थियो ।

दमकमा एकसाता अघि भएको छलफलमा दमकका लागि ११ हजाभन्दा बढि खोप आउन लागेको जनाईएको थियो । यहि बिषय सार्वजनिक भएको थियो । यद्यपी जोनसन एन्ड जोनसन खोप  सहित यो मात्रामा खोप आउने त्यहाँ बताईएको थियो ।

जोनसन एन्ड जोनसन खोप  लगाउन शुरु नगरिएका कारण त्यो खोपको संख्या गणना नभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । फ्रन्टलाइनमा काम गर्नेहरुका लागि एक पटक एक डोज लगाए पुग्ने खोप लगाउने तयारी रहेको नगरपालिकाले जनाएको छ ।

जोनसन एन्ड जोनसन खोप  यहाँ रहेका भुटानी शरणार्थीहरुलाई प्राथमिकताका साथ लगाउनका लागि स्वास्थ्य कार्यालयको परिपत्र रहेको स्वास्थ्य शाखाले प्रभावकारी न्यूजलाई जानकारी दिएको छ । भुटानी शरणार्थीहरुलाई प्राथमिकतामा राख्न भनिएको छ र उनिहरु पनि यसको प्रमुख हकदार बनेकाछन्, स्वास्थ्य शाखा श्रोतले भन्यो ।

दमकमा बिगतमा भन्दा यो पटक खोपमा निक्कै व्यवस्थित भएको बताईन्छ । खोप अपारदर्शी तवरले लगाईएको भन्दै राजनीतिक दलहरुले कुरा उठाएका थिए । उमेर समुह तथा सरकारले तोकेको मापदण्डका आधारमामात्र खोप हान्ने कार्य भएको जनप्रतिनिधिहरुको दाबी रहेको छ ।

जोनसन एन्ड जोनसन  खोपका लागि स्वास्थय कार्यालयले तोकेको यस्तो छ मापदण्ड

१.खोप सेवा संचालन गर्दा पालिका स्तरमा सर्बपक्षिय बैठक राखी छलफल गरि खोप अभियान संचालन गर्नु अगाडी नै पुर्ब तयारी योजना बनाएर मात्र Janssen खोप अभियान संचालन गर्ने ब्यवस्था मिलाउने।

२. Janssen खोप अभियान झापा जिल्लाका सम्पुर्ण सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा खोप केन्द्र राखी संचालन गर्ने ।

३. ५० बर्ष देखि ५४ बर्ष उमेर समुहका आमनागरिकलाई खोप दिने । खोप योजना बनाउदा ५४, ५३ र ५२ बर्षलाई पहिलो दिन र ५१ र ५० , अन्य लक्षित समुहलाई दोश्रो दिने खोप दिने ब्यवस्था मिलाउने ।

४. पूर्ण र अति अशक्त अपागंता भएका (बर्ग क र ख) नागरिकलाई असक्त प्रमाणपत्रको आधारमा खोप दिने।

५. हाल नेपालमा बसोवास गरिरहेका भुटानी शरणार्थीहरुलाई खोप दिने।

६. यस अघिको अभियानमा खोप लगाउन छुट भएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु लाई खोप दिने।

७. खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पासपोर्ट र भिसाको आधारमा खोप दिने ।