२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना संक्रमणको चेचब्रेकका लागि दमक नगरपालिकाले र स्थानीय प्रशासनले समेत निषेधाज्ञा लगाएको अवस्थामा झापाको दमकमा कतिपय विद्यालयहरुले कक्षा ११ को परिक्षा लिइरहेको खुलासा भएको छ । शिक्षा शाखाले विद्यालयहरुलाई परिक्षा नगर्नका लागि परिपत्र गरेपछि यो खुलासा भएको हो । केहि विद्यालयहरुले अनुमति नै नलिई धमाधम परिक्षा लिएको पाईएको छ र यो रोकिन्छ, प्रभावकारी न्यूजसंग शिक्षा शाखा श्रोतले भन्यो ।

दमक नगरपालिकाको शिक्षा शाखामा यस बिषयमा मौखिक उजुरी परेपछि यो खुलासा भएको हो । कुन कुन विद्यालयले परिक्षा लिदै आएका थिए भन्ने खुलेको छैन । सरकारले पनि कुनै पनि परिक्षा नगराउनका लागि निर्देशन गरिसकेको छ । कक्षा १२ को परिक्षा सरकारले रोकिसकेको छ ।  शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन नगराउन तीन तहका सरकारले नै बारम्बार निर्देशन पनि जारी गरेको पाईन्छ ।

अझ नेपालकै सबैभन्दा बढि कोरोना संक्रमणदर बढ्दै गएको झापा जिल्ला र त्यसमा पनि दमक रहेको यसभन्दा अघि सार्वजनिक हुँदै आएको छ । नगर क्षेत्रका सबै माध्यमिक बिद्यालयहरुलाई दमक नगरपालिकाको शिक्षा शाखाले परिक्षा नगर्न निर्देशन दिएको छ ।  परिक्षा भइरहेको पाएपछि नगरपालिकाले यस बिषयमा औपचारिक रुपमा नै परिपत्र गरेको शिक्षा शाखा श्रोतको भनाई रहेको छ ।

यस असहज परिस्थीतिको ख्याल नगरी कतिपय विद्यालयले यस नगरपालिकासँग पूर्व अनुमति नलिइ आफू खुशी कक्षा ११ को परीक्षा सञ्चालन गर्न लागेको भनि गुनासो प्राप्त हुन आएकोले यस नगरपालिकासँग पूर्व अनुमति नलिइ विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराई कक्षा ११ को परीक्षा लिने कार्य नगर्नु नगराउनु हुन अनुरोध छ, शिक्षा शाखाले मंगलावर विद्यालयहरुलाई परिपत्र गर्दै भनेको छ ।

विद्यालयले गर्ने सम्पुर्ण शैक्षिक क्रियाकलापको जानकारी यस नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई अनिवार्य उपलब्ध गराउन पनि नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव दिनेश न्यौपानले निर्देशन गरेकाछन् । यसभन्दा अघि पनि दमकका विद्यालयहरुले निषेधाज्ञा तथा नगरपालिकाको अनुरोधलाई वेवास्था गर्दै आएका थिए । नगरपालिकाले निषेधाज्ञा लगाएको समयमा पनि परिक्षा संचालन तथा विद्यालय लगाएको पाईएको थियो ।