२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक सहित झापामा जिल्ला प्रशासन कार्यालय झापाले लगाएको निषेधाज्ञा कायम रहेको छ । विनाकाम हिडडुलदेखि लिएर अत्यआवश्यक वाहेकका सबै ब्यापार ब्यवसाय बन्द गर्न निषेधाज्ञा आदेश जारी भएको छ । दमकमा मात्र होइन जिल्लाभर नै निषेधाज्ञा पालना भएको छ त ? यसको अनुगमन भने कतैबाट भएको देखिन्न । स्थानीय सरकारले पनि हार खाएको अवस्था छ भन्दा फरक नपर्ने अवस्था रहेको छ ।

दमकमा त निषेधाज्ञा तथा लकडाउन अहिलेसम्म कहिल्यै प्रभावकारी भएको छैन । डर, त्रास र सरकारको निर्देशन मान्नेहरुको बिजोग हुन थालेको छ । निषेधाज्ञाको अवस्था भन्दै धमाधम दैनिक उपभोग्य सामाग्रिदेखि लिएर अन्य सामाग्रिहरु बेच्नेहरुको भने मालामाल रहेको छ । यतिसम्मकी दमक नगरपालिकाले बनाएर नगरपालिकाको स्वामित्वमा रहेका पसल कवल तथा सटरहरुले समेत नगरपालिकाले नै तथा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दासम्म पनि स्थानीय सरकार र प्रशासन रमिते छ ।

एक सार्वजनिक कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले भनेको भनाईलाई आधार मान्ने हो भने स्थानीय सरकारलाई निषेधाज्ञा लगाएर अवज्ञा गर्नेलाई कार्वाही गर्ने अधिकार नै छैन । जसका कारण प्रशासनलाई नै निषेधाज्ञा पालना गराउनका लागि आग्रह गर्नु पर्दछ । निषेधाज्ञा तथा लकडाउन कोरोना संक्रमण कम गर्ने औषधि तथा अचुक औषधि नरहेपनि चेनब्रेकका लागि साहयक बन्न सकोस भनेर स्थानीय सरकारले यसमा जोडल दिएको हो ।

ब्यवसायीका नेताहरुले नै कतिपयलाई मालमाल र कतिलाई बेहाल बनाउने यस किसिमको निषेधाज्ञाको औचित्य नभएको बताउदै आएको पाईन्छ । यस्तो निषेधाज्ञा गर्नुको औचित्य के छ ? न स्थानीय सरकारले औचित्य पुष्टि गर्छ न त प्रशासनले नै भन्न सकेको छ, ब्यवसायीहरुको भनाई छ । निषेधाज्ञा पालना धोरैले मात्र गरेकाछन् र अधिकाँशले निषेधाज्ञाको अवज्ञा गरेकाछन् । लुकिछिपी देखि लिएर खुलमखुल्लासम्म बजार खुलेकाछन् ।

सर्वसाधरण नागरिकदेखि राज्यको नीति नियम र निर्देशन मान्ने ब्यापारीहरुको दैनिकी कष्ठप्रद बन्दै गएको छ । आम्दानीको श्रोत भने सबै बन्द हुने र बजारमा दैनिक खाद्यबस्तुदेखि लिएर तरकारी तथा फलफुलको भाउ आकाशिने गरेकाले अहिले धेरैमा ठुलो पीडा थपिएको छ । बैंकको ब्याज र साहुहरुको दबाब थेग्न नसकेर ब्यवसायीहरु मानसिक तनावमा रहने पनि अवस्था छ । अझ सर्वसाधरणहरुको जीवनयापन त धेरै मुश्किल बनिसकेको छ ।

यहि अवस्थामा र यसरी नै निषेधाज्ञा जारी राख्ने हो भने धेरैको विल्लिबाठ हुन अब समय लाग्दैन । अहिलेसम्म लगाईएको निषेधाज्ञा प्रभावकारी नभएका कारण न कोरोना संक्रमणको चेन ब्रेक हुन सक्यो न जनताको मनोभावानामा नै सकारत्मक परिवर्तन ल्यायो । केवल कालोबजारी गर्न पल्केका, जसरी पनि कमाउ धन्दामा लागेकाहरुका लागि भने स्वर्णय समय बन्यो । दमक नगरपालिमा भएको छलफलमा नै ब्यवसायीका नेताले कतिपय ब्यापारीहरुले दमकमा घरजग्गा नै जोड्ने गरी यो समयमा पैसा कमाए । यसमा पैसा कमाएकोमा डाह वा रिस नभएर यस्तो अवस्थामा गलत तवरले नागरिक ठगिएको भन्ने चिन्ता थियो ।