दमकका ब्यवसायीको चेतावनी-निषेधाज्ञा उलंघन गरी व्यापार व्यवसाय संचालन गर्न बाध्य हुनेछौ

विष्णुप्रसाद पोखरेल
दमक/ दमक उद्योग बाणिज्य सघले सटर बन्द गरेर कोरोना संक्रमण नरोकिने भन्दै ब्यापार ब्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने अवस्था सिर्जना गर्न स्थानीय सरकार समक्ष माग गरेको छ । संघको टोलीले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाउदै र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई भेटेर यस्तो माग गरेको दमक उद्योग बाणिज्य संघका बरिगष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले प्रभावकारीन्यूज संग बताएकाछन् ।
कोरोना भाइरसको दोश्रो चरणको संक्रमणका कारण गत वैशाख महिनादेखि नै निषेधाज्ञा जारी गरि पसल व्यवसायहरु बन्द गरिए तापनि यस्तो किसिमको निषेधाज्ञाले न त संक्रमण नै नियन्त्रण गर्न सकेको छ, न संक्रमण वृद्धि दर नै रोक्न सकेको छ, प्रभावकारीन्यूज संग गुरागाँईले भने । बाध्य भएर अब हामी ब्यवसायी स्थानीय सरकार र प्रशासनसंग जाने अवस्थामा पुगेका हौ, उनको भनाई छ ।
निषेधाज्ञाका समयमा राजमार्गमा निर्वाध सवारी साधनहरु संचालन भएका छन् भने विभिन्न राजनीतिक दलका भेला तथा कार्यक्रमहरु निर्वाध रुपमा संचालन भइरहेका छन् , संघको ज्ञापनपत्रमा भनिएको छ । पछिल्लो समयमा राजनीतिक दलहरुका भने कार्यक्रमहरु तिब्र रुपमा भइरहेकाछन् । यो स्थानीय प्रशासन र सरकारले रोक्न सकेको छैन ।
निषेधाज्ञाका नाममा उद्यमी व्यवसायीहरुलाई मात्र सटर कोठा बन्द गराउने र अन्य क्षेत्रलाई यसरी नै खुला रुपमा संचालन गर्न दिइने हो भने हामी उद्यमी व्यवसायीहरु निषेधाज्ञा उलंघन गरी आ–आफ्नो व्यापार व्यवसाय संचालन गर्न बाध्य हुने व्यहोरा हामीले स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारी तिम्सिनालाई जानकारी गराएका छौ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए।
जारी निषेधाज्ञाका कारण धरासायी बन्दै गएको उद्योग व्यवसाय संचालन गर्नका लागि सहज वातावरण तयार गरिदिन हामीले स्थानीय सरकार र प्रशासनलाई माग गरेका छौ, श्रेष्ठले भने । कोरोना विरुद्धको खोप पनि ब्यवसायीलाई प्राथमिकतामा राखेर हान्न पनि माग गरिएको श्रेष्ठको भनाई छ ।
दमक उद्योग बाणिज्य संघको ज्ञापनपत्र
गोकुल श्रेष्ठ