झापामा भदौ १ गतेदेखि परिमार्जित रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय ! दूई सिफ्टमा सबै ब्यवसाय खुला

दमक/ झापामा भोली भदौ १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा केहि परिमार्जित भएको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा लाग्दै आएका कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा परिमार्जित रुपमा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञालाई हटाउन र ब्यापार ब्यवसाय गर्ने अवस्था सिर्जना गर्न जिल्लाका ब्यवसायीहरुको तिब्र माग रहदै आएको थियो । साउन १६ गतेदेखि झापा जिल्लाभर लागू गरिएको सिल आज १२ बजे सकिदैछ ।
झापामा कोरोना संक्रमणदर नघटेका कारणले गर्दा पुर्ण रुपमा निषेधाज्ञा हटाउन नसकिने डिसीसीएमसी सदस्यहरुले राय राखेका थिए । हाल कै अवस्था विद्यमान रहने हो भने व्यवसायीहरुले निशेधाज्ञा उलंघन गर्न बाध्य हुनुपर्ने भन्दै जिल्लाका ब्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको ध्यानकर्षण गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डीसीएमसी बैठकले भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । निषेधाज्ञा लम्बाइए पनि जिल्लाका सबै पसल तथा बजार दुई चरणमा खुलाउने निर्णय गरेको छ ।
पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र दोस्रो चरणमा कपडा, हार्डवेयर, होटेल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
पसलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र पसल खोल्नु पर्ने हुन्छ । अनुगमनमा जाँदा मापदण्ड फेला नपरेको खण्डमा कारबाही गरिने उनले बताए । त्यस्तै सवारीसाधनको हकमा सबै यातायात खुलाउने निर्णय गरिएको जनाइएको छ ।