२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा कोरोना संक्रमणदर निक्कै बढिरहेको भएपनि सबै क्षेत्रलाई खुला गरिएको छ । आलोपालो प्रणालीबाट बजारहरु पुर्ण रुपमा खोल्ने जिल्ला कोभिड व्यवस्थापन समितिले (डीसीसीएमसी) ले निर्णय लिएको छ । यसले जिल्लामा कोरोना संक्रमण थप भयाभह बन्ने हो की भन्ने चिन्ता थपिएको छ । झाापामा ब्यवसायीहरुको तिब्र दबाब पछि निषेधाज्ञालाई खुकुलो बनाएको भन्दै लगभग निषेधाज्ञा हटेजसरी नै आलोपालो प्रणालीमार्फत अब बजारहरु खुल्नेछन् । पुर्ण निषेधाज्ञामा समेत नभएको अनुगमन तथा निषेधाज्ञाको कार्यन्वयन अब होला भन्ने कमैलाई मात्र विश्वास छ ।

निक्कै लामो समयपछि होटल तथा रेष्टुरेन्ट र लजहरु पनि अब खुला भएकाछन् । यसभन्दा अघि निषेधाज्ञामा दैनिक अत्यआवश्यकीय खाद्य सामाग्रिहरु तथा अन्य पसलहरु खुलेपनि होटल तथा लजहरुलाई भने कडाई गरिदै आएको थियो । मंगलवारदेखि अब होटल तथा रेष्टुरेन्ट र लजहरु पनि चल्ने भएकाहुन् । होटल/लज संचालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरि कुल क्षमताको ५०% (पचास प्रतिशत) नबढ्ने गरी संचालन गर्न पाईने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण (Disinfection) गर्ने, डीसीसीएमको निर्णयमा भनिएको छ । 

अत्यआवश्यकीय खाद्य सामाग्रि  विहान ४ घण्टा भने अन्य पसलहरु भने दिनभर खोल्न पाईने पनि निर्णय भएको छ ।  खाद्यान्न, तरकारी, फलफुल, माछा / मासु, दुध डेरी पसल दैनिक विहान १० वजे सम्म संचालन गर्न पाइने छ । तर अन्य पसल व्यवसायहरु (पुस्तक, हार्डवेयर तथा निर्माणजन्य सामाग्री, ईलेक्ट्रोनिक, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ताकपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, गाडी/मोटरसाईकल शोरुम, प्लास्टिक तथा मेसीनरी, फर्निचर) विहान १० बजे देखि वेलुका ६ बजे सम्म सञ्चालन गर्न पाईने छ, भन्ने निर्णय भएको छ ।  

स्थानीय सरकार र प्रशासनले पुर्ण निषेधाज्ञा लगाउदा पालना नभएको दमक र झापामा अब आलोपालोको कार्यन्वयन कसरी होला ? अब आलोपालो भनिएपनि पुर्ण रुपमा बजार तथा पसल ब्यवसाय खुलेको बुझ्दा फरक नपर्ने एक ब्यवसायी नेताले बताए । जुन रुपमा भएपनि अब ब्यापार, ब्यवसाय र बजार खुल्यो, निषेधाज्ञा हट्यो, उनले थपे । होटल, पसल, व्यवसाय संचालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा जिल्ला तथा पालिका स्तरबाट प्रभावकारी अनुगमन हुनेछ भन्ने निर्णयमा उल्लेख छ ।

खाजाघर, रेष्टुरेण्ट र मिठाई पसलहरु दैनिक दिउसो १० वजे देखि वेलुकी ६ वजे सम्म संचालन गर्न पाईने डीसीसीएमसीको निर्णय छ । कोरोना संक्रमणदर बढेमा बीचमा थप अन्य निर्णय पनि हुनसक्ने यो पटकको निषेधाज्ञामा उल्लेख रहेको छ । कोभिड-१९ को संक्रमण दर घट/बढ भएमा यस आदेशमा भएका व्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भने ।

निषेधाज्ञामात्र कोरोना संक्रमणको रोकथामको उपाय हुन नसक्ने र बारम्बार निषेधाज्ञामात्र लगाए यसको अवज्ञा हुने ब्यवसायीहरुको चेतावनी रहेको थियो । फितलो र सटर बन्द गराउनेमात्र निषेधाज्ञा हुनुहुदैन भनेर हामीले माग गरेका थियौ, दमक उद्योग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले प्रभावकारी न्यूजसंग भने । ब्यवसायीहरु कोरोना संक्रमण रोकथामका लागि राज्यका हरेक कार्यलाई सहयोग गर्दै आएपनि बारम्बारको निषेधाज्ञाले ब्यवसायी मारमा परेको उनको भनाई छ ।