दमकलाई उपमहानगरपालिका बनाउन पहल शुरु

विष्णुप्रसाद पोखरेल
दमक/ स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा झापाको दमकलाई उपमहानगरपालिका बनाउन प्रस्ताव भएको छ । दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लिखित रुपमा यसका लागि आवश्यक सहयोगका लागि अनुरोध गरेको हो ।
दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले कार्यपालिकाको बैठकको निर्णयको प्रतिलिपि सहित मन्त्रालयलाई यस बिषयमा जानकारी गराएकाहुन् । दमकसंग जोडिएको कमल गाँउपालिका जोडेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचन अघि स्थानीय तहहरुको पुर्नसंरचना गर्ने क्रममा दमकमा यसका लागि लामो समय आन्दोलन पनि चलेको थियो । त्यो समय तत्कालिन अवस्थामा लखनपुर, तोपगाछी र धरमपुरलाई मिलाएर उपमहानगरपालिका बनाउन कसरत भएको थियो ।
अहिले दमक र कमल गाँउपालिका मिलाउदा उपमहानगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पुरा हुने जनाईएको छ । पहिला राजनीतिक दलहरुले यस बिषयमा पहल गरेका थिए भने अहिले नगरपालिका आफैले यसको पहल थालेको हो ।
झापामा एउटा पनि उपमहानगरपालिका रहेको छैन । जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका छन् । ५ संघीय निर्बाचन क्षेत्र र १० प्रादेशिक निर्वाचन क्षेत्रहरू, एवं १९३४ वस्तीहरू रहेका छन्। दमकमा १० वटा वार्ड र कमल गाँउपालिकामा ७ वटा वार्ड रहेकाछन् ।