२०८० चैत्र १६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक / दमक नगरपालिकाले कमल गाँउपालिका समेत समेटेर उपमहानगर पालिका बनाउन प्रस्ताव गरेको सार्वजनिक भएसंगै यो बहस पेचिलो बनेको छ । दमक नगरपालिकाको प्रस्तावलाई कमल गाँउपालिकाले औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएको छैन । स्वतस्फूर्त रुपमा यसको समर्थन र विरोधमा आवाजहरु भने सुनिन थालेको छ । बहस भने तातेको छ ।

बिगतमा साविक, लखनपुर, तोपगाछी र धरमपुर समेत मिसाएर उपमहानगर पालिका बनाउने पक्षमा रहेका कतिपय नेता तथा सामाजिक अगुवाहरु अहिले बिपक्षमा पनि देखिएकाछन् । सामाजिक सञ्जालमा यसको समर्थन विरोध दुबैका तर्क आआफ्नै रहेकाछन् । २०७३ साल कार्तिकमा कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलका स्थानीय नेताहरुले लखनपुर, तोपगाछी र धरमपुर गाविस मिलाई उपमहानगरपालिका बनाउनुपर्ने औपचारिक रुपमा नै माग राखेका थिए ।

त्यो समयमा भएको प्रदर्शनका क्रममा तत्कालिन अजस्थामा माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, नगर सचिव शंकर बस्नेत, प्रेम विमली, कांग्रेसका दिपेश दाहाललाई प्रहरीले पक्राउ पनि गरेको थियो । इटहरी र मेचीनगरभन्दा पुरानो दमक नगरपालिकालाई उपमहानगरपालिका नबनाइएको भन्दै त्यो समयमा आक्रोश पोखिएको थियो । तर पछि पुर्नसंरचना हुँदा लखनपुर र तोपगाछी मिलेर कमल गाँउपालिका बनेको थियो भने धरमपुर शिवसताक्षी नगरपालिकामा गाभिएको थियो ।

दमक, लखनपुर, तोपगाछी र धरमपुर मिलाई दमक उपमहानगरपालिका वनाउनुपर्ने मागसहित यस क्षेत्रका राजनीतिक दलहरूले तत्कालिन अवस्थामा स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए । त्यो सयम उपमहानगरपालिका नबनेपछि यो बिषय आफै सेलाउदै गएको थियो ।  त्यसपछि पनि समय धेरै नै बद्लिएको छ । परिस्थिति र राजनीतिक घटनाक्रम पनि बेगल भएको अवस्था छ ।

कमल गाँउपालिकामा स्थानीय तहको निर्वाचनमा वर्तमान अध्यक्ष मेनुका काफ्लेसंग बराबरी मत ल्याएका नेपाली काँग्रेसका युवा नेता हुकुमसिं राईले यसलाई यो स्वीकार्य नहुने बताएकाछन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकाहुन् ।

राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्- साढे चार बर्ष देखि कमल गाउ पालिकाको प्रसाशनिक भवन बनाउन नचाहनु र दमक नगरपालिकाले कमल गाउँ पालिका लाई गाभेर उप नगरपालिका बनाउछु भन्नु, सरासर राजनैतिक बेइमानी हो, हामीहरूले तोपगाछी र लखनपुरलाई गुमाएर कमल बनायौ, फेरि कमलबासीले कमल गुमाउन किमार्थ चाहदैनौ/ यथासिघ्र कमल गाउपालिकाले यस बिषयमा आफ्नो धारणा सार्वजनिक गरियोस ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा यो बहस शुरु भएको छ । ब्याक्तिगत स्वार्थ र इगोलाई त्यागेर स्वतन्त्र बहस हुनुपर्छ भन्ने आवाजहरु पनि सुनिएकाछन् । विशेष गरेर राजनीतिक दलहरुले आफ्नो आधिकारीक धारणा बाहिर नल्याएपनि सत्तारुढ नेपाली काँग्रेस सहितका दलका नेताहरुले यससलाई स्वीकारेको पाईएको छैन ।

कमल गाँउपालिकाका सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशिल युवा तिलोचन अधिकारीले यसलाई राजनीतिक दाउपेचको रुपमा हेर्न नहुने बताएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-राजनैतिक स्वार्थलाई एकछिन बिर्सेर हेराैँ र विकास र समृद्धिकाे गतिशिलतालाई बुझाैँ । दमक र कमललाई मिलाएर दुवैकाे ईतिहास नमेटिने गरि उपमहा नगरपालिका बनाउँदा दुवै क्षेत्रलाई राम्रै हुन्छ हाेला है । मेराे व्यक्तिगत बिचार ।

कतिपयले कमल गाँउपालिकालाई नै नगरपालिकामा स्तरउन्नती गर्नु पर्ने सुझाव पनि दिएकाछन् । कमल गाँउपालिकाको आर्थिक कारोबारको मुख्य केन्द्र दमक रहेकाले जोडिना सकिने भएपनि अस्तित्व र नामको बिषयमा समेत सामाजिक सञ्जालमा बहस भएको देखिन्छ । अब यस क्षेत्रमा के गर्ने ? भन्नेमा सर्वदलिय, सर्वपक्षिय छलफल तथा बहस जरुरी रहेको छ । सिफारीस गर्दैमा र माग गर्दैमा हुने वा नहुने यो पनि निश्चित छैन । यसर्थ यसले सामाजिक सद्भाव र एकअर्काबीच कटुता आउने अवस्था नल्याउन सबै सचेत हुनुपर्दछ ।