२०८२ फाल्गुन २९, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / दमक नगरपालिकाले कमल गाँउपालिकालाई दमकलाई उपमहानगर बनाउन गरेको प्रस्तावलाई अस्विकार गरेको छ । केहि दिन अघि दमक नगरपालिकाले दमकलाई उपपमहानगरको माग गर्दै सरकार समक्ष पत्रचार गर्दै यसमा सहयोग गर्ने कमल गाँउपालिकालाई बोधार्थ गराएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, काठमाण्डौलाई दमक नगरपालिकाले पत्रचार गरेको थियो । यस नगरपालिकाको पूर्वी सिमानामा तर्फ रतुवा खोता र सो को पूर्व तर्फ झापा जिल्लाको कमल गाँउपालिका रहेको छ। दुवे पालिकाको सिमानामा पर्ने रतुवा नदीको बहावक्षेत्र एउटै भएको समान भौगोलिक अवस्थिति र बजार तथा अन्य सेवा सुविधाका हिसाबले दुवै पालिकाहरुका जनतालाई पायकर सुविधाजनक भएका कारण दुवै पालिकाको भौगोलिक क्षेत्रलाई समेटी उपमहानगरपालिका बनाउने जनचाहना अनुरूप गत विगत वर्षहरुमा नै उपमहानगरपालिका बनाउने पहल गरिएको पनि हो, नगरपालिकाले गरेको पत्रचारमा भनिएको छ ।

स्थानीय तहको निर्वाचन निकट भविष्यमा हुन गईरहेकोले दुवै पालिकाहरु समेटी उपमहानगरपालिका बनाउने प्रक्रिया अघि बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरी पठाउने भनि दमक नगरकार्यपालिकाको मिति २०७८/०४।२८ गतेको ९ औ बैठकबाट निर्णय भएकोले सो सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाईदिने व्यवस्था हुन निर्णयानुसार अनुरोध गरिन्छ, दमक नगरपालिकाले यस्तो दाबी सहित पत्रचार गरेको केहि दिनमा नै कमल गाँउपालिकाले आफै नगरपालिकाको माग गरेको हो ।

यस बिषयमा बिभिन्न तवरले स्वतस्फूर्त रुपमा बहस भइरहेका बेला कमल गाँउपालिकाले आफै आफुहरु नगरपालिकाका लागि सक्षम रहेको जनाउदै दमकको प्रस्ताव औपचारिक रुपमा नै अस्विकार गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश नं १, विराटनगरलाई गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले पत्रचार गर्दै नगरपालिका बनाउन आवश्यक पहल गरिदिन आग्रह गरेको पाईएको छ । यसले दमकको प्रस्तावलाई अस्वीकार गरेको बताईन्छ ।

“ यो गाउँपालिका यसभन्दा अगावै पनि नगरपालिका घोषणा भइ पुनः गाउँपालिका कायम भएकोमा नेपाल सरकारबाट तोके बमोजिमका न्युनतम शहरी सुविधाहरु सडक यातायात, संचार, विद्युत, खानेपानी, बजारक्षेत्र, बैंक तथा वित्तिय संस्था, सामुदायिक संस्था, सभाहल, खेलमैदान लगायत जनसंख्या र भूगोल समेत सबै मापदण्ड पुरा भएको हुँदा कमल गाउँपालिकालाई नगरपालिका घोषणा गर्न प्रदेश सरकार मार्फत संघीय सरकार समक्ष अनुरोध गर्ने ” निर्णय नवौ गाँउसभाबाट नै पारित भएको गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले जनाएकीछन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८ (१) बमोजिमको मापदण्ड पुरा भएको हुँदा नगरपालिकामा स्तरोन्नति लागि सिफारिस गरिदिनु हुन गाउँसभाको निर्णयानुसार मुख्यमन्त्री कार्यालयलाई अनुरोध गरिएको समेत बताईएकोछ । यसले दमक नगरपालिकाले कमल गाँउपालिकाको साथ नपाउने अवस्था सिर्जना हुने समेत देखिएको छ ।